कृषि

कृषि अध्ययन गरेका युवाको सयपत्री सपना

०
Banner

नवलपुर (नवलपरासी),कात्तिक २१-

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका युवाले तिहारलाई लक्षित गर्दै लगाएको सयपत्री फूल ढकमक्क फुलेको छ । कृषि विषय लिएर स्नातकोत्तर गर्दै गरेका युवा आशिष कँडेलको संयोजकत्वमा गैँडाकोट–५ मा सामूहिक फूल खेती गरिएको हो ।

स्थानीय २५ जना युवाले सबैको हात नामक संस्था स्थापना गरी फूल खेतीको सुरुआत गरेका हुन् । युवाले कृषि विश्वविद्यालय तथा स्थानीय नर्सरीबाट प्रतिगोटा रु पाँचका दरले टेनिस बल प्रजातिको तीन हजार ४०० बिरुवा खेती गरिएको संस्थाका उपाध्यक्ष कँडेलको भनाइ छ

“हामीले जग्गा भाडामा लिएर फूल खेती गरेका हौँ” कँडेलले भन्नुभयो, “तिहारमा पहिलो उत्पादन टिप्ने तयारी गरिएको छ । यो फूल तीन पटकसम्म टिप्न मिल्छ ।”

आगामी मङ्सिर अन्तिम सातासम्म सयपत्रीको उत्पादन हुने भन्दै कँडेलले त्यसपछिका दिनमा पनि सो जमिनमा अन्य उत्पादनमूलक काम गर्ने योजना रहेको बताउनुभयो ।

“हामीले सामाजिक संस्था दर्ता गरेर सञ्चालन गरेका छौँ, संस्था सञ्चालन गर्न पैसा माग्ने कुरा भएन” उहाँले भन्नुभयो, “सामूहिकरूपमा काम गरी प्राप्त भएको आम्दानीको केही हिस्सा हामी साझेदारले राख्छौँ र बाँकी पैसा संस्था सञ्चालन तथा अन्य सामाजिक काममा खर्च गर्नेछौँ ।”

समूहमा आबद्ध सदस्यमार्फत करिब रु एक लाख सङ्कलन गरी तीन कठ्ठा जमिन भाडामा लिएर सयपत्री फूलको खेती सुरु गरिएको उहाँले बताउनुभयो । “हामीले पहिलो पटक फूल खेती गरेका हौँ” उहाँले भन्नुभयो, “कहाँबाट कसरी अनुदान पाइन्छ भन्ने कुरा पनि हामीलाई जानकारी भएन र हालसम्म कसैले आर्थिक सहयोग गर्नुभएको छैन ।”

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कृषि पढेका सहकर्मीको अगुवाइमा फूल खेती गरिएको भन्दै उहाँले फूलमा लाग्ने रोग तथा कीराबारे जानकार भएकाले उत्पादन राम्रो भएको कँडेलले बताउनुभयो । फूल रोप्ने समय, एउटा बिरुवाबाट अर्को बिरुवाबीचको दूरी, मल तथा गोडमेल गर्ने सबै सही तरिका अपनाउँदा फूलबाट राम्रो उत्पादन लिन सकिएको उहाँको भनाइ छ ।

संस्थाका सदस्य प्रविणा केसीले तिहार नजिकिएसँगै सयपत्री फूल र मालाको माग बढ्न थालेको बताउनुभयो । “तिहारमा मालाका लागि धेरैको रोजाइमा सयपत्री फूल पर्ने भएकाले माग धेरै छ” उहाँले भन्नुभयो, गैँडाकोट र चितवनबाट धेरै भएको भन्दै केसीले सम्भव भएसम्म उपभोक्ताको घरमै पुगेर फूल दिने बताउनुभयो ।

उहाँले अर्को वर्ष फूल खेतीको क्षेत्रफल वृद्धि गरिने बताउनुभयो । कृषि पढेका युवाको नेतृत्वमा गरिएको सयपत्री खेतीले युवालाई आत्मनिर्भरतातर्फ अगाडि बढाएको भन्दै स्थानीयस्तरमा प्रशंसा भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>