इच्छकामना
इच्छाकामनाका चेपाङ परिवारलाई सापकोटाले दिए १२ वटा हात्ते ट्याक्टर

चितवन, असार २८–
चितवनको सबैभन्दा धेरै पहाडी भू–भाग समेटिएको गाउँपालिका हो इच्छाकामना । समुन्द्री सतह २५० मिटरदेखि १९३० मिटरसम्मको उचाइमा फैलिएको इच्छाकामनामा गाउँपालिकामा खेतीपाती गर्न कठिन छ । चेपाङ समुदायको बाहुल्य रहेको यो पालिकाको पहाडी भू–भागमा प्रविधि लैजान नसक्दा परम्परागत रुपमा खेती भइरहेको छ । यही समस्या देखेर कषि क्षेत्रमा लामो समयदेखि अध्ययन र अनुसन्धानमा खटिएका ललितपुर महानगरपालिका–१५ निवासी चन्द्रशेखर सापकोटाले यहाँ बसोबास गर्ने चेपाङ समुदाय र अन्य विपन्न परिवारलाई आधुनिक उपकरण वितरण गर्ने निधो गरे ।
दुई महिनाअघि ७ वटा हाते ट्याक्टर वितरण गरेका सापकोटाले आइतबार पुनः ५ वटा हाते ट्याक्ट चेपाङ परिवारलाई हस्तान्तरण गरे । आफ्नो व्यक्तिगत लगानीमै सापकोटाले कुल १२ वटा हाते ट्याक्टर वितरण गरिसकेका छन् । ‘प्रविधिको प्रयोगबाट नेपालमा कृषि क्रान्ति गर्न संभव छ, पहाडमा पनि स–साना प्रविधिको प्रयोगबाट राम्रो उत्पादन र आम्दानी हुने भएकाले चेपाङ र विपन्न परिवारलाई हात्ते ट्याक्टर सहयोग गरेको हुँ’–सापकोटाले भने ।
इच्छाकामना गाउँपालिकामा ७ वटा वडा छन् । ती सबै वडामा कम्तीमा एउटा हात्ते ट्याक्टर पुगोस् भन्ने चाहना अनुरुप सापकोटाले सुरुमा ७ वटा हात्ते ट्याक्टर वितरण गरेका थिए । माग बढेपछि उनले पुनः ५ वटा हात्ते ट्याक्टर वितरण गरेका हुन् । ‘एउटा ट्याक्टरबाट गाउँका सबैले मिलेर काम गरोस् भनेर सबै वडामा दिएको छुँ, आवश्यक परेको खण्डमा अरुलाई पनि सहयोग गर्छु’–सापकोटाले भने ।
पहाडी भू–भागमा प्रशसस्तै कृषिको संभावना भएकाले स्थानीय विपन्न परिवारलाई कृषि उत्पादन बढाउन हात्ते ट्याक्टर सहयोग गरिएको उनको भनाई छ । ट्याक्टर लिनका लागि डाँडाबाट चेपाङहरु कुरिनटार बजार झरेका थिए । ट्याक्टर पाएपछि उनीहरुको मुहारमा चमक देखिन्थ्यो । ट्याक्टर पाएपछि निरज चेपाङले भने–‘अहिले पुरानै तरिकारले खेतीपाती गर्दै आइरहेका थियौं, अब ट्याक्टरबाट अरु धेरै उब्जनी गराउन सक्छौं ।’
निरज जस्तै प्रेम चेपाङ पनि खुशी थिए । उनले पनि मकै, कोदोलगायतका बालीहरु लगाउँदै आइरहेका छन् । हात्ते ट्याक्टर पाएपछि उत्पादन बढाउन र काम गर्न पनि सहज हुने भन्दै सहयोग गर्ने दातालाई धन्यवाद दिए ।
सानो हात्ते ट्याक्टर भएकाले पहाडी भू–भागमा काम गर्न सहज हुन्छ । एउटा हात्ते ट्याक्टरको मूल्य करिव ५० हजार रुपैयाँ रहेको छ ।
२७ हजार जनसंख्या रहेको इच्छाकामना गाउँपालिकामा सिमान्तकृत चेपाङसंगै विभिन्न आदिवासी जनजाति समुदाय, खसआर्य, मुस्लिम समुदायको पनि बसोबास छ । यो पालिकामा करिव ८ हजार बढी चेपाङ समुदायको मात्रै बसोबास छ ।



























