खैरहनी

चितवनको पर्सामा दाताको जग्गा र सहयोगमा पाँच तले आँखा उपचार केन्द्र स्थापना

Banner

चितवन, असार २६–

नेपाल नेत्रज्योती संघ चितवन शाखाले पूर्वी चितवनको पर्सामा निर्माण गरेको आँखा उपचार केन्द्र भवनको आज उद्घाटन गरिएको छ । खैरहनी नगरपालिकाका प्रमुख शशिकुमार खनियाँ, उपप्रमुख कविता उप्रेती र नेपाल नेत्रज्योती संघ चितवनका सभापति जयराम श्रेष्ठले भवनको उद्घाटन गर्नुभएको हो । सो अबसरमा भवनमा निर्माण गरिएको जग्गा दाता जनक वहादुर पाण्डेको शालिक अनावरण गरिएको थियो ।

सो अबसरमा नगरप्रमुख खनियाँले भवनबाट स्थानीयलाई आँखा उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा खैरहनी नगर अस्पतालका अध्यक्ष समेत रहनुभएका खनियाले अस्पतालका तर्फबाट आँखा उपचार केन्द्रलाई रु ३० लाखमा खरिद गरिएको फेको मेसीन समेत हस्तान्तरण गर्नुभयो । आँखा उपचारका लागि आबश्यक सहयोग र सहजिकरणका लागि नगरपालिका संगसंगै रहेको उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल नेत्रज्योती संघ चितवनका सभापति जयराम श्रेष्ठले दाताहरुले सहयोग गरेको जमिनमा दाता र भरतपुर आँखा अस्पतालको सहकार्यमा रु २ करोड १५ लाखमा भवन निर्माण गरीएको बताउनुभयो । नयाँ भवन वने संगै यही शल्यक्रिया समेत गरिने बताउनुभयो ।

१५ जना बिरामी भए पछि भरतपुर आँखा अस्पतालका बिशेषज्ञ चिकित्सकहरुले यही शल्यक्रिया गर्ने उहाँको भनाई थियो । सो अबसरमा खैरहनी नगरपालिकाकी उपप्रमुख कविता उप्रोती, नेपाल नेत्रज्योती संघका केन्द्रिय उपसभापति ऋषिराम पौडेल, उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष चिरन्जीवि सुवेदी,लायन्स डिष्ट्रिक्ट ३२५ आरका प्रथम भाइस गभर्नर दिपेन्द्र खतिवडा, दाताको तर्फबाट बुद्धिराज डल्लाकोटी, निर्माण संयोजक के एन सिलवाल, खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रराज पौडेल, वडा नम्बर ८ का अध्यष शंकर कंडेल, लायन्स क्लब अफ चिवतन इष्टका अध्यक्ष अर्जुन लम्साल लगाएतले बोल्नुभएको थियो ।

खैरहनी नगरपालिका वडा नम्बर ८ पर्सा वजारमा स्थानीय जगत वहादुर पाण्डे, सानुकाजी पाण्डे, अमोल पाण्डेले बुबा जनक वहादुर पाण्डेको सम्मानमा ६ धुर जग्गा उपलव्ध गराउनुभएको थियो । सभापति श्रेष्ठका अनुसार सो जग्गामा स्थानीय समाजसेवी बुद्धिराज डल्लाकोटी, लक्ष्मण निरौला, भिम वहादुर पाण्डे, कविता उप्रेती, रक्कि खरेल लगाएतले रु ७० लाख सहयोग गर्नुभएको थियो । सो सहयोगमा भरतपुर आँखा अस्पतालले रु १ करोड ४४ लाख थप गरी भवन सम्पन्न गरेको हो ।

नेपाल नेत्रज्योती संघ चितवनको मूख्य अस्पताल भरतपुरमा रहेको छ । कावासोती र पर्साको ठोरीमा सेकेण्डेरी अस्पताल, चोरमाराको मध्यविन्दु र सर्लाहीको इश्वर पुरमा सर्जिकल सेन्टर छ भने भरतपुरको ओरालोमा सिटि क्लिनिक छ । ती बाहेक १९ वटा आँखा उपचार केन्द्र बिभिन्न जिल्लामा छन् । सार्लाहीको हरिपुर र धादिङ्को नेत्रावतीमा उपचार केन्द्र सुरु गर्ने तयारीमा छ । सभापति श्रेष्ठका अनुसार अस्पतालले एक वर्षमा ३ लाख हाराहारी बहिरंग सेवा र १२ हजारको शल्यक्रिया गर्दै आएको छ । शिबिरहरु मार्फत ४० हजार र आँखा उपचार केन्द्रमा १ लाख हारहारीको बहिरंग सेवा दिने गरेको तथ्याङ्क रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>