माैसम

काठमाडौँ–हेटौडा जोड्ने देउरालीमा १० मिनेट, फरक मौसमको अनुभूति, बादलसँग लुकामारी

Banner

काठमाडौँ,असार २२-

मनसुन सक्रिय भएसँगै देशभरको मौसम निरन्तर परिवर्तनशील बनेको छ। कतै अत्यधिक गर्मी छ भने कतै लगातार वर्षा भइरहेको छ। वर्षासँगै नेपालका पहाडहरू हरियालीले ढाकिएका छन् र प्राकृतिक सौन्दर्य झन् मनमोहक बनेको छ।

काठमाडौँबाट कुलेखानी हुँदै देउराली भएर हेटौडा पुग्ने सडकखण्डमा अहिले यात्रा गर्नेहरूले अनौठो मौसमको अनुभव गर्न सक्छन्। केही समयअघि घाम लागेको आकाश केही मिनेटमै बाक्लो बादल र हुस्सुले ढाकिन्छ।

काठमाडौँ र हेटौडामा अहिले गर्मी महसुस भइरहे पनि यी दुई सहरलाई जोड्ने सडकको देउराली क्षेत्रमा भने मौसम बिल्कुलै फरक देखिन्छ। केही क्षणमै वरिपरिका हरिया डाँडाकाँडा, सुन्दर इन्द्रसरोवर (कुलेखानी) जलाशय र रमणीय दृश्य स्पष्ट देख्न सकिन्छ भने अर्को केही मिनेटमै बाक्लो हुस्सुले केही मिटर परसम्म पनि देख्न नसकिने अवस्था सिर्जना हुन्छ।

काठमाडौँको बल्खुबाट करिब ४५ किलोमिटर दूरीमा रहेको देउराली, काठमाडौँ–हेटौडा सडकखण्डमा यात्रा गर्ने सवारीसाधनहरू खाना खान र विश्राम गर्न रोक्ने प्रमुख स्थानका रूपमा पनि परिचित छ।

देउराली प्राकृतिक सौन्दर्यका लागि मात्र होइन, ऐतिहासिक महत्वका कारण पनि परिचित छ। यातायातको आधुनिक सुविधा विकास हुनुअघि मकवानपुरको धोर्सिङदेखि काठमाडौँको मातातीर्थसम्म सामान ढुवानी गर्न प्रयोग गरिएको नेपालको पहिलो रोप-वे यही क्षेत्रबाट सञ्चालनमा आएको थियो। राणा प्रधानमन्त्री चन्द्र शम्शेरको पहलमा १९६३ सालमा अमेरिकी सरकारको सहयोगमा निर्माण गरिएको उक्त रोपवेको इतिहास झल्काउने केही संरचनाहरू आज पनि देउराली क्षेत्रमा देख्न सकिन्छ।
तस्बिरहरू :  नेपाल फोटो लाइब्रेरी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>