देश/प्रदेश
पश्चिमी वायुको आंशिक प्रभाव जारी, आज र आइतबार विभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा हुने

काठमाडौँ ,कात्तिक २१ –
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका साथै कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
आज राति कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका साथै बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
आइतबार देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी तथा कोशी र बागमती प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना महाशाखाले जनाएको छ।
























