कृषि

रुपन्देहीमा बोरिङको भरमा धान रोपाइँ

Banner

सिद्धार्थनगर (भैरहवा), असार २२ –

मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा रुपन्देहीका अधिकांश किसान यस वर्ष बोरिङ र पम्पसेटको भरमा धान रोप्न बाध्य भएका छन् । जिल्लाका कोटहीमाई, मर्चवारी, सम्मरीमाई, गैडहवा र ओमसतिया गाउँपालिका तथा लुम्बिनी सांस्कृतिक नगरपालिकालगायतका क्षेत्रमा भूमिगत पानी तानेर धान रोपाइँ भइरहेको छ ।

विगतका वर्षमा आकाशे पानी र कुलोको सिँचाइमा निर्भर रहने किसान यस वर्ष चर्को घामबीच महँगो खर्च गरेर बोरिङ सञ्चालन गर्न बाध्य भएको स्थानीयहरूले बताएका छन् । समयमै पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित हुनुका साथै उत्पादनमा समेत असर पर्ने चिन्ता किसानमा बढेको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका किसान अमित चौहानले वर्षौंदेखि निर्माण भएका कुलोहरू संरक्षण र मर्मतको अभावमा प्रयोगविहीन बनेकाले खेतसम्म सिँचाइको पानी पुग्न नसकेको बताउनुभयो । “कुलो छन्, तर पानी छैन, मर्मत नहुँदा किसानले त्यसको लाभ लिन सकेका छैनन्”, उहाँले भन्नुभयो ।

मर्चवारी गाउँपालिकाका स्थानीय बैजनाथ बरइका अनुसार अहिले अधिकांशले पम्पसेटमार्फत सिँचाइ गरिरहेका छन् । किसानहरुले तीन–चार वटा पम्पसेट एकैसाथ सञ्चालन गरेर रोपाइँ भइरहेको उहाँको भनाइ छ ।

स्थानीयका अनुसार मर्चवारसहित रुपन्देहीका दक्षिणी क्षेत्रमा स्थायी सिँचाइ प्रणाली नहुँदा प्रत्येक वर्ष किसानले यस्तै समस्या भोग्दै आएका छन् । भूमिगत पानीमा बढ्दो निर्भरता, डिजेल तथा विद्युत् खर्च र मौसमको अनिश्चितताले खेतीको लागतसमेत उल्लेखनीय रूपमा बढाएको उनीहरूको भनाइ छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>