देश/प्रदेश

माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकाको बजेटमा कृषि, पर्यटन र पूर्वाधार

Banner

कास्की, असार ११ –

कास्कीका अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट बुधबार सार्वजनिक गरेका छन् । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर यी दुई पालिकाले बजेट कार्यक्रम ल्याएका हुन् ।

अन्नपूर्णले रु ६५ करोड ५० लाख तथा माछापुच्छ्रेले रु ६८ करोड २७ लाखको बजेट सार्वजनिक गरेका छन् । अन्नपूर्ण गाउँपालिकाले ‘कृषि, पर्यटन, ऊर्जा र पूर्वाधारः अन्नपूर्ण समृद्धिको आधार’ भन्ने दीर्घकालीन लक्ष्यलाई केन्द्रमा राखेर बजेट तर्जुमा गरेको जनाएको छ ।

बजेटले कृषि उत्पादन र उत्पादकत्व वृद्धि, युवा उद्यमशीलता प्रवद्र्धन, ‘डिजिटल’ सेवा विस्तार, पर्यटन विकास तथा पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिएको छ । पूर्वाधारतर्फ सबै वडालाई मध्यपहाडी लोकमार्गसँग जोड्ने, चक्रपथ निर्माण तथा सडक स्तरोन्नतिका लागि रु ११ करोड २६ लाख ४७ हजार विनियोजन गरिएको उपाध्यक्ष चन्द्रकला अधिकारीले बताउनुभयो । गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि रु ६० लाख छुट्याइएको छ ।

कृषि तथा पशु विकास क्षेत्रमा अतिरिक्त रु ७० लाख विनियोजन गरिएको छ भने दुग्ध, चल्ला तथा पशुपालनमा अनुदान कार्यक्रम सञ्चालन गरिने भएको छ । स्वास्थ्य क्षेत्रमा गाउँपालिकाभित्रका सबै नागरिकको स्वास्थ्य बीमा प्रिमियममा शत्प्रतिशत अनुदान दिने व्यवस्था गरिएको छ । यसका लागि रु ९० लाख बजेट छुट्याइएको छ । शिक्षातर्फ विद्यालय कर्मचारी र बालविकास सहजकर्ताको पारिश्रमिक, शैक्षिक सुधार कार्यक्रम तथा दिवा खाजा विस्तारका लागि बजेट विनियोजन गरिएको छ ।

यसैगरी, माछापुच्छ्रे गाउँपालिकाले ‘समृद्ध गाउँपालिकाः सुखी नागरिक’ भन्ने लक्ष्यसहित प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी र सुशासनलाई प्राथमिकता दिएको छ । गाउँपालिकाले शिक्षा क्षेत्रअन्तर्गत कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम विस्तार गर्न रु ६० लाख विनियोजन गरेको छ । अध्यक्ष कप खेलकुद प्रतियोगिता तथा युवा कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ ।

स्वास्थ्य क्षेत्रमा लाहाचोक स्वास्थ्य प्रवर्द्धन केन्द्र सुदृढीकरणका लागि रु ३० लाख, पाठेघर तथा स्तन क्यान्सर परीक्षण कार्यक्रम, निःशुल्क औषधि वितरण तथा स्वास्थ्य संस्थाको स्तरोन्नतिका लागि बजेट व्यवस्था गरिएको उपाध्यक्ष सीता अधिकारीले बताउनुभयो ।

पूर्वाधारतर्फ कोलचोक(लाहाचोक(देउराली सडक स्तरोन्नतिका लागि रु चार करोड, तातोपानी सडकका लागि रु एक करोड २० लाख तथा अन्य रणनीतिक सडक आयोजनामा बजेट विनियोजन गरिएको छ । कृषि क्षेत्रअन्तर्गत मौरी पकेट क्षेत्र विकासका लागि रु १२ लाख , कृषि उत्पादन सङ्कलन केन्द्र स्थापना, साना सिँचाइ आयोजना तथा कृषि प्रयोगशाला सञ्चालनका कार्यक्रम समेटिएका छन् ।

गाउँपालिकाले स्थानीय जनताको सहभागितामा ‘माछापुच्छ्रेको ताकत, जनताको लागत’ कार्यक्रममार्फत लागत साझेदारी योजनाका लागि रु ९० लाख विनियोजन गरेको छ । कास्कीमा रहेका पाँच पालिकामध्ये पोखरा, मादी र रुपा गाउँपालिकाले भने यसअघि नै बजेट कार्यक्रम ल्याइसकेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>