देश/प्रदेश

विपद्जन्य जोखिम न्यूनीकरणका लागि रसुवामा तयारी पूरा

Banner

रसुवा, असार ८ –

वर्षायाम नजिकिँदै जाँदा बाढीपहिरो, ढुङ्गा खस्ने, आकस्मिक बाढी तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै रसुवामा विपद् व्यवस्थापनको तयारी पूरा गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति रसुवाले सम्भावित विपद्को पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण संयन्त्रलाई तयारी अवस्थामा राखिएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार विपद्् व्यवस्थापनका लागि जिल्लामा क्रियाशील सरकारी तथा गैरसरकारी संस्था, सामाजिक सङ्घसंस्था, प्रतिष्ठान तथा रसुवामा सञ्चालित जलविद्युत् आयोजनालाई सम्भावित उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरिएको छ ।

समितिले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सम्पूर्ण संयन्त्रलाई २४सै घण्टा तयारी अवस्थामा राखेको जनाएको छ । जिल्ला अस्पताललाई एम्बुलेन्स, चिकित्सक, स्वास्थ्यकर्मी तथा आवश्यक औषधि र स्वास्थ्य सामग्री पर्याप्त मात्रामा भण्डारण गरी तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ ।

त्यसैगरी जिल्लाका पाँचवटै गाउँपालिकालाई एम्बुलेन्स तयारी अवस्थामा राख्न, आवश्यक औषधि, राहत तथा उद्धार सामग्री कार्यालयको जिन्सी शाखामार्फत सुरक्षित भण्डारण गर्न र विपद् प्रतिकार्यको लागि बजेट समेत बिनियोजन गर्न विपद् ब्यवस्थापन समितिले निर्देशन दिइएको छ। ट्राफिक र पर्यटन प्रहरी तथा राष्ट्रिय अनुसन्धान कार्यालयलाई वर्षायाममा जोखिम हुन सक्ने स्थानहरूको पहिचान गरी आवश्यक सुझाव जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउन आग्रह गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार विपद्को समयमा तत्काल परिचालन हुने क्विक रेस्पोन्स टिम र ¥यापिड रेस्पोन्स टिमको कार्ययोजना तयार भइसकेको छ ।

सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह

वर्षायाममा पहाडी भेगका ठाडा खोल्सामा भल आउने, पहिरो खस्ने तथा ढुङ्गा झर्ने जोखिम उच्च रहने भएकाले पानी परेका बेला सकेसम्म यात्रा नगर्न र अत्यावश्यक परे भरपर्दो साथीको साथमा मात्र सावधानीपूर्वक यात्रा गर्न समितिले अनुरोध गरेको छ ।

विशेषगरी ठूलोभोर्ले, पारच्याङ, पाटीखर्क, बोगटीटार र बनुवा क्षेत्रबाहेक जिल्लाका अधिकांश भूभाग भीरालो तथा पहिरोको जोखिमयुक्त रहेकाले खोल्सा तर्दा, सडक तथा पदमार्गमा हिँड्दा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । गतवर्ष लाङटाङ पदमार्ग क्षेत्रमा वर्षायामका क्रममा भएको दुःखद् घटनालाई स्मरण गर्दै समितिले वर्षा सुरु हुनासाथ सुरक्षित स्थानमा आश्रय लिन र जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले प्राकृतिक विपद् कुनै पनि बेला आउन सक्ने भएकाले नागरिक, स्थानीय तह, सरकारी निकाय, सुरक्षा निकाय तथा सामाजिक सङ्घसंस्थाबीच समन्वय र सचेतनालाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएको छ । समितिले समयमै अपनाइने सावधानी र पूर्वतयारीले ठूलो क्षति हुनबाट जोगाउन सकिने विश्वास व्यक्त गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>