देश/प्रदेश
सागम र लप्से गाउँमा खानेपानीको पहुँच

भोजपुर, असार ८-
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरअन्तर्गत सङ्खुवासभामा पेले खोल्सी खानेपानी आयोजनामार्फत २६ घरमा एक एक धारा जडान भएको छ ।
यो योजनाबाट सङ्खुवासभाको खाँदबारी नगरपालिकामा पर्ने सागम र लप्से गाउँको पानीको समस्या हटेको हो । तीन स्कीममा निर्माण भइरहेको आयोजनाको पहिलो ‘स्किम’को काम सम्पन्न भएसँगै २६ घरमा पानीको सुविधा पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ ।
गत वर्षबाट यो आयोजना निर्माणको काम थालिएको हो । यो आयोजनाको कूल अनुमानित लागत श्रमदानसहित रु छ करोड ८९ लाख रहेको कार्यालयका सवइन्जिनियर बेदराज बराइलीले जानकारी दिनुभयो ।
पानीको चरम अभाव रहेको यो स्थानमा घरघरमा धारा जडान गरिएपछि सहजता भएको खाँदबारी नगरपालिका–६ का वडाध्यक्ष अर्जुन तामाङले बताउनुभयो । बाँकी रहेका स्कीमको पनि काम समयमा सम्पन्न गराउन वडाले आवश्यक भूमिका खेलिरहेको उहाँको भनाइ छ ।
आयोजनाको लागि वार्षिकरुपमा आउने बजेट न्यून भएको कारण योजनालाई चाँडो सम्पन्न गराउन समस्या देखिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गादत्त भण्डारीले बताउनुभयो । स्थानीयलाई चाँडो पानी खुवाउन यहाँ आउने बजेटलाई सरकारले बढाउन आवश्यक रहेको उहाँको भनाइ छ ।
पहिलो स्किमबाट पानी वितरण थालिएपछि सहजता भएको स्थानीयवासी टेकबहादुर बगाले मगरले बताउनुभयो । घरमा धारा जडान भएपछि पानीको जोह गर्न आधारातमा कुँवा तथा पँधेरा जानुपर्ने बाध्यता हटेको उहाँको भनाइ छ ।
पानी वितरण भएपछि दैनिक सरसफाइदेखि घरायसी कामकाजमा सहज भएको स्थानीयवासी तारामाया राईले बताउनुभयो । घरघरमा पानी जडान भएपछि वर्षौंदेखिको पानीको समयमा अन्त्य भएको उहाँको भनाइ छ । रासस


























