देश/प्रदेश
मकवानपुरमा सवारी चालकको ड्रग टेस्ट, ११० मध्ये १० जना लागू पदार्थ सेवन गरेको अवस्थामा फेला

हेटौँडा ,असार ८-
सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मकवानपुरमा सार्वजनिक तथा निजी सवारी साधनका चालकहरूको लागू पदार्थ सेवन ड्रग टेस्ट जाँच अभियान सञ्चालन गरिएको छ ।
३९औँ अन्तर्राष्ट्रिय लागू औषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आइतबार हेटौँडा उपमहानगरपालिका–२ चौकीटोल र वडा नं- १५ रातोमाटे क्षेत्रमा विशेष चेकजाँच अभियान सञ्चालन गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको आयोजनामा तथा जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला जनस्वास्थ्य कार्यालय हेटौँडाका स्वास्थ्यकर्मीको सहकार्यमा सञ्चालन गरिएको अभियानमा लामो तथा छोटो दूरीमा सञ्चालन हुने निजी तथा यात्रुवाहक सवारी साधनका चालकहरूको लागू पदार्थ सेवन परीक्षण गरिएको थियो ।
प्रहरीका अनुसार दुई चरणमा गरिएको परीक्षणमा कुल ११० जना चालकको ड्रग टेस्ट गरिएको थियो। जसमध्ये १० जना चालकले लागू पदार्थ सेवन गरेको पुष्टि भएको छ । लागू पदार्थ सेवन गरेको पाइएका चालकहरूलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक डिएसपी मदनकुमार काफ्लेका अनुसार लागू पदार्थ सेवन गरी सवारी चलाउने चालकविरुद्ध प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ । उनले यस्ता निगरानी तथा परीक्षण अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने बताए ।
प्रहरीले लागू पदार्थ सेवन गरी सवारी सञ्चालन गर्दा दुर्घटनाको जोखिम उल्लेखनीय रूपमा बढ्ने भएकाले चालकहरूलाई सचेत रहन आग्रह गर्दै निगरानी र सचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाइएको जनाएको छ ।


























