देश/प्रदेश
राष्ट्रिय स्वाधीनता खतरमा छ, एकजुट भएर संघर्षको तयारी गरौंः राजेन्द्र पाण्डे

काठमाडौं, असार ६-
नेकपाका नेता राजेन्द्र पाण्डेले सरकारको जनविरोधी गति र राष्ट्रिय स्वाधीनताको रक्षार्थ राजनीतिक दलहरु एकसाथ संघर्षको तयारीमा जुट्न आह्वान गरेका छन् । शनिबार राजधानीमा भएको कार्यक्रममा पाण्डेले ठुलो बलिदानबाट आएको व्यवस्था र सरकारको गैर कानुनी हर्कत जनताका लागि चुनौती बनेकोसमेत जिकिर गरेका छन् ।
४९औं जुगेडी किसान संघर्ष दिवस तथा ३५ औँ किसान संघर्ष दिवसको अवसरमा नेता पाण्डेले देशको भूराजनीति निकै संकटमा परेको र त्यसको मुख्य कारक वर्तमान सरकार रहेको आरोप लगाए ।
आज सत्तामा अपरिपक्व र जनविरोधी शक्ति पुग्नुमा कम्युनिस्ट पार्टीहरुको अदुरदर्शिता मुख्य कारक रहेको पाण्डेको दाबी छ । ‘तत्कालिन काँग्रेस एमालेले प्रचण्ड सरकारलाई हटाउनु, विगतमा ओलीले हुँदाखाँदाको संसद विघटन र नेकपा विभाजनले आजको दिन देख्नु पर्यो,’ पाण्डेको कथन छ ।
‘हाम्रो विगतको गल्तिले जनविरोधीहरु सरकारमा छन्, उनीहरुविरुद्ध एक भएर संघर्षको गर्नुको विकल्प छैन,’ पाण्डेले भने ।
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बलराम बाँस्कोटाले देशको भूराजनीतिक अवस्था निकै चुनौतीपूर्ण रहेको भन्दै चिन्ता व्यक्त गरे । उनले भने, ‘समाजवादी चीनलाई घेराउ गर्न साम्राज्यवादी अमेरीकाले नेपाली भूमिको दूरुपयोग गर्न थालेको छ, यस बारे क्रान्तिकारीहरु सजक रहनुपर्छ ।’
अखिल नेपाल किसान महासंघका इन्चार्ज बलदेव चौधरीले ४९ वर्ष पहिले जुगेडीका किसानहरुले गरेको विद्रोह नेपाली किसानहरु र देशको परिवर्तनको मूल आधार भएको बताए । चौधरीले वर्तमान सरकारले धनी र उपल्लो वर्गको पक्षमा र गरिव तथा उत्पीडित वर्गलाई थप संकटमा पर्ने खेल खेलिरहेको आरोप लगाए ।
अखिल नेपाल किसान महासंघका संयोजक चित्रबहादुर श्रेष्ठले जुगेडी किसान संघर्षको गरिमा र महिमा बारे प्रस्ट पार्दै यो किसान संघर्ष र मुक्तिको एक ऐतिहासिक घटना भएका बताए ।
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा किसान नेता नहेन्द्र खड्काले जुगडी किसान संघर्षको बाटो अनुसरण गर्दै समाजवादी क्रान्ति गरि छड्ने प्रतिवद्धता व्यक्त गरे ।
जुगेडी किसान संघर्षको तयारीमा सहभागी तथा नेपाली कम्युनिष्ट पार्टीका नेता रणेन्द्र बरालीले वर्तमान सरकारले सुकुम्बासीमाथि गरेको गैरकानुनी हर्कतविरुद्ध संघर्ष चर्काउनुपर्नेमा जोड दिए ।
अखिल नेपाल किसान महासंघका सहसंयोजक राम कुमार ज्ञवालीले विभाजित भएर भन्दा सबै किसान संगठनहरु एक भएर वर्तमान सरकारका किसान विरोधी कदमको प्रतिवाद गर्नुपर्ने बताए ।


























