मकवानपुर

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

Banner

वासुदेव पौडेल,

बागमती, असार २-

मकवानपुरको पहिचानका रुपमा रहेको दारको ठेकी यहाँका स्थानीयको उद्यमशीलता एवम् पर्यटनसँग जोडिन थालेको छ ।

प्राचीनकालदेखि मकवानपुर र आसपासका जिल्लामा दारको ठेकीले आफ्नो छुट्टै पहिचान बनाउँदै आएको छ । दारको ठेकीको प्रवद्र्धनका लागि स्थानीय जागरुकतासँगै सरकारी निकायले पनि चासो दिन थालेपछि उद्यमशीलता र पर्यटकयीय पहिचानका रुपमा पनि जोडिन लागेको हो ।

विशेषगरी ग्रामीण परिवेशमा गाई–भैँसी पाल्ने किसानले दही जमाउनका लागि दारको ठेकी सबैभन्दा राम्रो मानिने भएका कारण पनि यसको आफ्नै विशिष्ट महत्व रहेको डिभिजन वन कार्यालय, मकवानपुरका प्रमुख राकेशप्रसाद चन्द्रवंशीले बताउनुभयो ।

पछिल्ला समयमा गाई–भैँसीपालनको क्रम घट्दै गएको र प्लाष्टिक तथा धातुुजन्य सामग्रीको प्रयोग बढ्दै जाँदा कतै यसको पहिचान नै हराउने होकि भन्ने चिन्ता बढाएको छ । दारको ठेकीको महत्वलाई उजागर गर्नकै लागि डिभिजन वन कार्यालय, हेटौँडाले विगत तीन वर्षयता दारको काठको प्रवद्र्धन गर्ने गरी कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रमुख चन्द्रवंशी उहाँका अनुुसार समुदायसँगको सहकार्यमा कार्यालयले दारका बिरुवाका लागि नर्सरी, तारबारका साथै गोडमेल आदिमा सहयोग गरिरहेको छ ।

मकवानपुरको चुरेको माथिल्लो भेग, मनहरी तथा लोथरभन्दा माथिल्लो भूभागमा दारका बोट प्रशस्त पाइने उहाँले जानकारी दिनुुभयो । पछिल्लो समय काठको ठेकीको प्रयोग र संरक्षण नहुँदा यो लोपोन्मुख अवस्थामा पुगेको थियो ।

दही जमाउने यन्त्र र प्लाष्टिक तथा धातुजन्य उपकरणको प्रयोग बढ्दै गएका कारण पनि यहाँको पहिचानका रुपमा रहेको दारको ठेकीलाई संरक्षण गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।

वर्षौंअघि देखि नै मकवानपुरमा बनाइएको दारको ठेकी काठमाडौँ, भक्तपुर, ललितपुरलगायत विभिन्न जिल्लामा बिक्रीका लागि पु¥याइन्थ्यो । दारको संरक्षणका लागि सरकारी प्रयासँगै पछिल्ला वर्षमा यहाँका विभिन्न सामुदायिक वनले पनि सक्रियता बढाएका छन् ।

हेटौँडा नगरपालिका वडा नं ५ स्थित पिप्ले पोखरा सामुदायिक वनले आफ्नो क्षेत्रमा दारका बिरुवा हुर्काउने अभियान सञ्चालन गरेको छ । सामुदायिक वनअन्तर्गत महिला समूहलाई दारको ठेकी बनाउने तालिम प्रदान गरिरहेको वन उपभोक्ता समितिका अध्यक्ष रामहरि चौलागाईंले जानकारी दिनुुभयो ।

उहाँका अनुुसार उक्त वनमा अघिल्लो वर्ष १५० वटा दाराका बिरुवा लगाइएको थियो । यस वर्ष थप एक सय बिरुवा थप्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । “मकवानपुरको पहिचान दारको ठेकी लोप हुने अवस्था अवस्थालाई दृष्टिगत गरी संरक्षण, प्रवद्र्धन र उपयोगका कार्यक्रम अघि बढाएका छौँ”, उहाँले भन्नुुभयो, “पिप्ले सामुदायिक वनअन्तर्गत महिला समूहलाई दारको ठेकी बनाउने तालिम दिँदै उद्यमशीलतासँग पनि जोड्न खोजिएको छ ।”

ग्रामीण क्षेत्रका पशुपालक किसानले दूध जमाएर दही बनाउने प्रयोजनका लागि दारको ठेकी प्रयोग गर्ने गरे पनि यो क्रमशः लोपोन्मुख बन्दै गए पछि संरक्षण र उपयोगका लागि तालिमहरूमा जोड दिइएको उहाँले उहाँले बताउनुुभयो ।

अन्य काठका ठेकीको तुलनामा दारको ठेकी केही महँगो पर्ने उहाँको भनाइ छ । पिप्ले पोखरा सामुदायिक वनअन्तर्गत महिलाहरूले ठेकीलगायत उपहारका लागि प्रयोग गरिने सामान बनाएर बिक्री गर्दै आएको उल्लेख गर्दै उहाँले मकवानपुरको पहिचान दारको ठेकीलाई उद्यमशीलता एवम् पर्यटनसँग पनि जोड्न खोजिएको बताउनुुभयो ।

स्थानीय बूढापाकाका अनुसार प्राचीनकालदेखि नै मकवानपुर र आसपासका क्षेत्रमा ठेकी बनाउन दार अथवा देवदार प्रजातिका रूखको काठको प्रयोग गर्दै आइएको छ । अन्य काठको तुलनामा दारको काठ हल्का हुने र यसमा दही जमाउन सबैभन्दा राम्रो हुने भएकाले पनि सकेसम्म दार नै खोज्ने प्रचलन रहेको स्थानीयवासी रमेश थापाले जानकारी दिनुुभयो ।

काठको ठेकी लोप हुँदै जाँदा यस क्षेत्रमा परम्परागत रुपमा ठेकी बनाउँदै आएका चुदाराहरूको पेसासमेत सङ्कटमा परेको उहाँले बताउनुुभयो ।

पर्यटन प्रवर्द्धन गर्न दारको ठेकी उपहार..

दारको ठेकी लोप हुने चिन्ताका बीच पिप्ले पोखरा सामुदायिक वनअन्तर्गतका महिला समूहले काठको ठेकीलाई उपहारका सामग्रीका रुपमा बिक्री गर्दै आएका छन् ।

महिला समूहले मागअनुसार ठेकी तयार गरी उपलब्ध गराउँदै आएको वनका अध्यक्ष चौलागाईंले बताउनुुभयो ।

मकवानपुरको पहिचानलाई कायम राख्नका लागि हेटौँडा बसपार्क क्षेत्रमा दारको ठेकीको आकारको पानी ट्याङ्की निर्माण गरेको छ । हेटौँडा आएका पर्यटकहरूले बसपार्कमा रहेको उक्त ठेकी आकारको ट्याङकीलाई तस्बिरमा कैद गरी लैजाने गरेका छन् ।

मकवानपुरगढी गाउँपालिका वडा नं ४ मा पर्ने मनकामना मन्दिर जाने मार्गमा पनि पहिचान जोगाउन र पर्यटनसँग जोड्न दारको ठेकीसहितको पार्क निर्माण गरिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>