देश/प्रदेश

‘समुदायस्तरको स्वास्थ्य सेवाको मेरुदण्ड स्वास्थ्य स्वयंसेविका हुन्’

Banner

सिद्धार्थनगर (भैरहवा), जेठ १८-

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महिला स्वास्थ्य स्वयंसेविकाले जनस्वास्थ्य प्रवर्द्धनमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँहरूको हकहित, सेवासुविधा र मनोबल अभिवृद्धिका लागि प्रदेश सरकार सकारात्मक रहेको बताउनुभएको छ ।

नेपाल स्वास्थ्य स्वयंसेवी सङ्घ (नेभा) लुम्बिनी प्रदेश समितिले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको माग तथा सुझावपत्र बुझ्दै मुख्यमन्त्री आचार्यले समुदायस्तरमा स्वास्थ्य सेवा विस्तार गर्न महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

उहाँले मातृ तथा शिशु स्वास्थ्य, खोप अभियान, परिवार नियोजन, पोषण तथा स्वास्थ्य सचेतनाका कार्यक्रममार्फत स्वयंसेविकाहरूले पुर्‍याएको योगदान उल्लेखनीय रहेको बताउनुभयो । “समुदायमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महिला स्वास्थ्य स्वयंसेविकाहरूले खेलेको भूमिका प्रशंसनीय छ”, उहाँले भन्नुभयो ।

नेपाल स्वास्थ्य स्वयंसेवी सङ्घ प्रदेश अध्यक्ष सुनिता शर्माको नेतृत्वमा गएको टोलीले नौबुँदे माग तथा सुझावपत्र पेस गरेको छ । मागपत्रमा सेवा अवधि पूरा गरी ६० वर्ष उमेर पुगेका स्वयंसेविकालाई सम्मानजनक अवकाश सुविधा उपलब्ध गराउने, क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्ने, सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, चाडपर्व खर्चको व्यवस्था गर्ने, दुर्घटना तथा मृत्यु राहत कोष स्थापना गर्ने तथा मासिक प्रतिवेदन भत्ता उपलब्ध गराउनेलगायत विषय समावेश छन् ।

प्रदेश सरकारले हाल अवकाश प्राप्त महिला स्वास्थ्य स्वयंसेविकालाई रु ५० हजार उपलब्ध गराउँदै आएको जनाएको छ । मुख्यमन्त्री आचार्यले स्वयंसेविकाहरूका माग तथा सुझाव अध्ययन गरी प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्ने विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सङ्घले महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको संस्थागत सम्मान, सामाजिक सुरक्षा तथा सेवासुविधाको सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएको जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>