कृषि
तरकारीले उचित मूल्य नपाउँदा चितवनका किसान मर्कामा

चितवन, वैशाख १४-
जिल्लामा व्यावसायीक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य समेत पाउन नसकेपछि यहाँका किसानहरु चिन्तित बनेका हुन् ।
विगत २० वर्षदेखि व्यावसायीक तरकारीखेती गर्दै आउनु भएकी भरतपुर महानगरपालिका–२५ बुद्धिचोककी लक्ष्मी रानाभाट अहिले बोडी, काँक्रो, चिचिन्ना, करेलालगायतका तरकारीले उचित मूल्य पाउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो “अधिकांश तरकारी प्रतिकिलो रु पाँचमा बेच्न बाध्य छौं ।”
बाह्र विगाह क्षेत्रफलमा तरकारी खेती गर्दै आउनु भएकी उहाँ तरकारीले उचित मूल्य नपाउँदा आफूलगायतका किसान मारमा परेको बताउनुभयो । उहाँका अनुसार अहिले किसानले तरकारी बारीमै छाड्न बाध्य भएका छन् । मजदुरलाई दिने पैसा समेत उठ्न नसकेको उहाँको भनाइ छ ।
यस्तै गुनासो किसान सुमिना थापाको पनि छ । उहाँले २ विगाह क्षेत्रफलमा तरकारीखेती गर्दै आउनुभएको छ । उहाँको बारीमा अहिले तने बोडी, काँक्रा चिचिन्डा जस्ता तरकारी लगाउँदै आउनुभएको छ । उहाँले अहिले १० कठ्ठा जग्गामा लगाएको बोडी टिपेर मूल्य नपाए पछि त्यतीकै राख्नु भएको छ । उहाँले भन्नुभयो “तरकारीले मूल्य पाउन सकेन बिचौलीया मोटाएको देखियो ।” किसान र उपभोक्ताबीचको मूल्यको अन्तर ठूलो भएपछि किसानहरुले तरकारी बिक्री गर्न सकेका छैनन् ।
उहाँका अनुसार लागत मूल्य समेत नपाउने भएकाले किसानले मजदुर लगाएर तरकारी टिप्न पनि छाडेका छन् । तरकारीले उचित मूल्य नपाएपछि किसान संघर्ष समिति वनाएर प्रदर्शन गर्ने तयारीमा किसानहरु रहेको संघर्ष समितिका संयोजक ईश्वरी न्यौपानेले बताउनुभयो ।
न्यौपानेले भन्नुभयो “किसानसँग प्रतिकेजी रु ५ देखि १० मा किनेर उपभोक्ताहरुकोमा पुग्दा रु ७० देखि ८० मा बिक्री हुने गरेको छ ।” आफूहरुले बजारमा उपभोक्ता मूल्य समेत बुझेको बताउँदै उहाँले अब किसानले बजारमा तरकारी नपाउनेसम्मका काम गर्ने तयारीमा रहेको बताउनुभयो । बिउ, मल, बिषादी, जनशक्ति, सिंचाई, ढुवानीको लागत मूल्य समेत उठ्न नसकेको उहाँले बताउनुभयो ।
राज्यले तरकारीको न्यूनतम समर्थन मूल्य तोक्न समेत उहाँले आग्रह गर्नुभयो । आयातित तरकारीले बजार पाउँदा यहाँ उत्पादित तरकारीले मूल्य पाउन नसकेको उहाँको भनाइ छ । यहाँ तरकारी चिस्यान केन्द्र स्थापना गर्न सके उत्पादित तरकारीले मूल्य पाउन सक्ने उहाँले जानकारी दिनुभयो ।
राष्ट्रिय कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई चितवनका अनुसार अहिले जिल्लामा तरकारी जोनका रुपमा ७७० हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिंदै आइएको छ । जहाँ एक हजार कृषक सहभागी भएका छन् । अहिले बजार मूल्य नपाउँदा किसानहरु चिन्तित बनेको इकाईका प्रमुख महेश रेग्मीले बताउनुभयो । रासस
























