चितवन विशेष
तरकारीमा विषादी न्यूनिकरण गर्न चितवनमा किसानलाई तालिम

चितवन, बैशाख १०-
चितवनमा तरकारी बालीमा विषादी न्यूनिकरण गर्नका लागि किसानलाई तालिम प्रदान गरिएको छ । बिहीबार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई चितवनले पश्चिम चितवनमा व्यवसायीक रुपमा तरकारी खेती गरिरहेका किसानलाई विषादी सेचतना सम्बन्धी तालिम प्रदान गरेको हो ।
भरतपुर महानगरपालिका वडा नम्बर–२४मा दुई दिनसम्म सञ्चालन भएको तालिममा ४५ जना किसानको सहभागिता रहेको थियो । सो अवसरमा जीवनाशक विषादी, विषादीको प्रकार, विषालुपन, वर्गीकरण, विषादी सम्बन्धी नेपालमा भएका कानुन र मापदण्ड, प्रतिबन्धित विषादीको अवस्था, नेपालमा बिषादीको प्रयोग, मानव स्वास्थ्य र वातावरणमा प्रभाव, बालीनालीका शत्रुजीव पहिचान र व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा वरिष्ठ कृषि अधिकृत देवराज अधिकारी, सुजन अम्गाई, बाली संरक्षण अधिकृत गीता केसी, काशीराम पाण्डेले किसानहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
किसानहरुले बालीमा प्रयोग गर्ने विषादीलाई न्यूनिकरणका लागि वार्षिक कार्यक्रम अनुसार प्रशिक्षण कार्यक्रम राखिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई चितवनका प्रमुख महेश रेग्मीले जानकारी दिनुभयो । मावन स्वास्थ्यलाई ख्याल गर्दै विषादीको प्रयोग गर्न किसानलाई उहाँले अनुरोध समेत गर्नुभयो । यस्तै सो अवसरमा किसानलाई विद्युतीय लाइट ट्रयाप, ढुशीनासक विषादी र जिम्मेवार कृषक बनौँ, सुरक्षित विषादी अपनाऔँ लेखिएको टिसर्ट वितरण गरिएको थियो ।
























