चितवन विशेष
चितवनमा ठूलो परिमाणमा लागू औषध सहित एक जना पक्राउ, सवारी साधन नियन्त्रणमा

चितवन,बैशाख १० –
चितवनमा लागू औषध गाँजासहित एक जना व्यक्ति पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ स्थित चौकी डाँडा क्षेत्रमा विशेष सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला परेको हो ।
गए राति करिब १ः३० बजेको समयमा बि आर ०१ पिइ ६९४३ नम्वरको भारतीय गाडीमा गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरी टोलीले चेकजाँच गर्दा गाडीको सिटमुनि ’फल्स बटम’मा लुकाइ राखेको अवस्थामा ३० प्याकेट लागू औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिनुभयो । उक्त घटनामा संलग्न रहेको आरोपमा चितवन कालिका नगरपालिका–३ पदमपुर बस्ने २७ वर्षीय देवचन्द्र स्याङ्तानलाई प्रहरीले पक्राउ गरेको छ। साथै प्रयोग भएको पिकअप गाडी समेत नियन्त्रणमा लिइएको छ।
खनालका अनुसार गाँजाको प्रति केजी मूल्य करिब ६ हजार रुपैयाँ रहेको र बरामद गरिएको कुल परिमाणको मूल्य करिब पाँच लाख ७९ हजार रुपैयाँ बराबर हुने अनुमान छ । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
























