चितवन विशेष

चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

Banner

चितवन, वैशाख ०८-

चितवनमा दोस्रो संस्करणको ‘चितवन अटो शो २०२६’ आयोजना हुने भएको छ । चितवन अटोमोबाइल डिलर्स एसोसिएसन र चितवन अटोमोबाइल्स एसोसिएसनको संयुक्त आयोजनामा भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा आगामी बैशाख १७ गतेदेखि २१ गतेसम्म अटो शो सञ्चालन गरिने आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।

अटोमोबाइल व्यवसायको प्रवद्र्धन, सुरक्षित व्यवसाय सञ्चालन तथा सडक दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रमलाई जोड दिँदै अटो शो आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक राजन पियाले जानकारी दिए । कार्यक्रममा विभिन्न कम्पनीका नयाँ–नयाँ प्रविधियुक्त सवारीसाधन, विशेषगरी विद्युतीय सवारी (इभि) र स्मार्ट मोबिलिटी समाधानहरू प्रदर्शनीमा राखिनेछन् ।

उनका अनुसार अटो शोमार्फत उपभोक्तालाई सवारी खरिदमा उत्साह बढाउनुका साथै नयाँ प्रविधिबारे जानकारी दिने लक्ष्य राखिएको छ । कार्यक्रममा सवारी खरिदमा विशेष छुट, आकर्षक स्किम, अन–द–स्पट फाइनान्स तथा इन्स्योरेन्स सेवा समेत उपलब्ध गराइनेछ ।

अटो शोमा साना–ठूला गरी विभिन्न ब्रान्डका कार, जिप, मोटरसाइकल र स्कुटरका करिब ७५ स्टल रहनेछन् । साथै बैंक तथा बीमा कम्पनीहरूको सहभागिता पनि रहनेछ । कार्यक्रम अवलोकन गर्नेमध्ये केही दर्शकलाई लक्की ड्रमार्फत पुरस्कार प्रदान गरिने चितवन अटोमोबाइल डिलर्स एशोसियसनका अध्यक्ष इन्द्रप्रसाद रेग्मीले जानकारी दिए ।

त्यसैगरी, शोमा पुराना ‘भिन्टेज’ गाडी र महँगा ‘बिग बाइक’ को प्रदर्शनी, मोटरसाइकल स्टन्ट, जिमखाना तथा टीडीएस ¥यालीजस्ता खेलकुद कार्यक्रमसमेत समावेश गरिनेछ । तेस्रो दिन ‘अटो सेमिनार’ तथा चौथो दिन विद्यालयस्तरीय विद्यार्थीलाई लक्षित गरी हेल्मेट प्रयोगसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरीने उनले बताए । ४ देखि ८ कक्षासम्म अध्ययन गर्ने विद्यार्थी तथा विद्यार्थीका अभिभावकहरुको उपस्थितीमा हेल्मेट प्रयोग सम्बन्धी सेचतना एवम् अन्तराष्ट्रिय स्तरको हेल्मेट वितरण समेत गरिने आयोजकले बताएको छ ।

करिब १० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको अटो शोमा करिब ५० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ । दैनिक सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने यस अटो शोलाई सफल बनाउन सबै सरोकारवालालाई चितवन अटोमोवाईल्स एशोसिएसनका अध्यक्ष मोहन केसीेले आग्रह गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>