चितवन विशेष

पेट्रोलिय पदार्थको मुल्य बृद्धिको प्रभाव: चितवनबाट काठमाडौँ जान गाडी पाउनै मुश्किल

Banner

चितवन वैशाख ०६-

नारायणगढको पुलचोक, पोखरा बसपार्क लगायतका क्षेत्रमा उभिन हुँदैन थियो । कता जाने भनेर सवारी चालक तथा बसका सहयोगी च्याप्प समाउन आइपुग्थे । तर आइतबार दिउँसो भने यी स्थानमा उनीहरुको उपस्थिती देखिँदैन थियो । चितवनदेखि काठमाडौँ समेत जाने सवारी साधन नपाएर यात्रुहरु उल्टै उनीहरुलाई खोज्न भौतारिरहेका थिए । त्यस मध्येका एक थिए देवघाटका गणेश थापा ।

थापा भाञ्जिको विवाहमा काठमाडौँ जानका लागि ९ बजे नै घरबाट निस्किएका थिए । साढे नौ बजे नारायणगढको पोखरा बसपार्क आइपुगेका थापा दिउँसो तीन बज्दासम्म बसपार्कमै थिए । राजधानी जाने गाडी बसिरहेका थापालाई रात साँझ गरेर भएपनि भाञ्जिको विवाहमा पुग्ने अठोट छ । तर अहिलेसम्म टिकट पाएका छैनन । ‘गाडी पाइन्छ कि भनेर कहिले पुलचोक पुग्छु । कहिले आँपटारी पुग्छु’उनले गाडी नपाउँदाको पिडा पोख्दै भने ‘काठमाडौँ जाने भाडा अटोमा चढ्दा चढ्दा सकिन लाग्यो ।’ टिकट काउण्टरमा टिकट नै नपाउने उनले बताए ।

थापाजस्तै समस्या भोग्नेहरू थुप्रै थिए । गैँडाकोट नगरपालिका–१का देवराज पौडेलपनि नारायणगढमा बस खोज्दै भौतारिरहेका देखिन्थे । उपचार गर्न काठमाण्डौँ निस्कन लागेका पौडेलले चार घण्टा अघिदेखि राजधानीसम्म जाने बस खोजेका हुन् । ‘काठमाडौँ हरेक एक महिना उपचार गर्न जानुपर्छ’ मृगौलाका बिरामी समेत रहेको पौडेलले भने ‘जीवनमा अहिलेसम्म काठमाडौँ जानका लागि गाडी नपाएको पहिलो पटक हो ।’

चितवन भौगोलिक रूपमा देशको केन्द्रमा पर्छ । पूर्व–पश्चिमबाट आउने सवारीहरू यही भएर राजधानी प्रवेश गर्छन् । तर अहिले ती सवारीहरू पनि भरिएर आउने हुँदा चितवनबाट चढ्ने यात्रुहरू झन् मर्कामा परेका छन् । काठमाडौँबाट आमालाई भेट्न आएकी सीता भण्डारी फर्किन गाडी नपाएर अलपत्र परेको बताइन् । ‘यातायात व्यवसायीले व्यवस्था गर्ने हो कि सरकारले?’ उनको प्रश्नमा आक्रोश मात्र होइन, निराशा पनि मिसिएको थियो। ‘यत्रो भीड अलपत्र छ, कसैले सुन्ने कोही छैन।’

सवारी अभावसँगै अर्को समस्या पनि थपिएको छ—महँगो भाडा । फाट्टफुट्ट चलिरहेका गाडीहरूले यात्रुहरूबाट अस्वाभाविक रकम असुलिरहेका छन् । भरतपुरका पवन पण्डितले आफ्नी दिदीलाई काठमाडौँ पठाउँदा १,२०० रुपैयाँ तिर्नुपरेको अनुभव सुनाए। ‘तीन घण्टा कुर्दा पनि गाडी पाइएन, अन्ततः महँगो भाडा तिरेर पठाएँ,’ उनले भने। सामान्य अवस्थामा ५५० देखि ६४० रुपैयाँसम्म पर्ने भाडा एक्कासि दोब्बरजस्तै हुनु यात्रुका लागि बाध्यता बनेको छ ।

स्थानीय प्रशासनले पुलचोक, आँपटारीजस्ता स्थानबाट यात्रु चढाउन रोक लगाएको छ। यात्रुहरूलाई केन्द्रिय बसपार्क वा पोखरा बसपार्कबाट टिकट लिन भनिएको छ । तर त्यहाँ पुग्दा टिकट काउन्टर सुनसान भेटिन्छन्। टिकट छैन, गाडी छैन—यात्रुहरूका लागि विकल्प पनि छैन ।

यस असहज अवस्था हुनुको कारण पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँग जोडिएको देखिन्छ । पछिल्लो समय डिजेलको मूल्य उल्लेखनीय रूपमा बढेको छ । यातायात व्यवसायीहरूका अनुसार, सञ्चालन खर्च अत्यधिक बढ्दा गाडी चलाउनु घाटाको व्यापार बनेको छ । व्यवसायी महासंघका उपाध्यक्ष भुवन बरालका अनुसार, सामान्य अवस्थामा चितवनबाट दैनिक करिब सयवटा बस काठमाडौँ जाने गर्थे । अहिले त्यो संख्या घटेर करिब ३० मा सीमित भएको छ ।

बराल भन्छन्, ‘सरकारले भाडा समायोजन ढिलो गर्छ, तर इन्धनको मूल्य हप्तैपिच्छे बढ्छ। यस्तो अवस्थामा घाटा खाएर गाडी चलाउन सकिँदैन।’ उनका अनुसार, छ महिनामा एकपटक हुने भाडा समायोजन वर्तमान बजारअनुसार वैज्ञानिक छैन। ‘प्लेनको भाडा जस्तो तत्काल समायोजन हुनुपर्छ,’उनी भन्छन्, ‘नत्र बीचको घाटा कसले बेहोर्ने?’

सरकारले गत चैत २५ गते सार्वजनिक यातायातको भाडा १६ प्रतिशतले बढाएको थियो। तर व्यवसायीहरूका अनुसार त्यो वृद्धि पनि पर्याप्त छैन । डिजेलको मूल्य १८० रुपैयाँबाट बढेर २३७ रुपैयाँ पुगिसकेको अवस्थामा पुरानै भाडादरले सञ्चालन सम्भव नभएको उनीहरूको तर्क छ ।

तर प्रशासन भने फरक धारणा राख्छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार, आधिकारिक रूपमा यात्रुबहाक बस कम चलेको भन्ने गुनासो आएको छैन। ‘ट्राफिकको रिपोर्ट अनुसार मालबाहक सवारी कम भएका छन्, यात्रुवाहक भने सामान्य नै छन्,’ उनले भने । उनले निगरानी बढाउने आश्वासन दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>