समाचार

बर्दिया निकुञ्जमा प्रवेश गरेका एकजना १७ दिनपछि मृत फेला, पाँच अझै बेपत्ता

Banner

सुर्खेत, चैत्र ९-

बर्दिया राष्ट्रिय निकुञ्ज शिकार खेल्न गएका टोपबहादुर खत्री १७ दिनपछि सोमबार मृत भेटिएका छन् । फागुन २३ गते शिकार खेल्न गएका अन्य पाँच जना अझै सम्पर्कविहीन छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक सुधिर राज शाहीले उनको शव ठाकुरबाबा नगरपालिका २ झाँक्री खोलामा फेला परेको हो । शवको सनाखत आसे महतराले गरेका थिए । महतारा मृतकका भिनाजु हुन् ।

खत्रीसँगै सिकार खेल्न गएका समूहका पाँच जना अझैसम्म सम्पर्कमा आएका छैनन् । सम्पर्कविहिन भएकाहरुमा २५ बर्षीया रेशम समसेली, ४१ बर्षीया रबिलाल दमाई ,३४ बर्षीया राम बहादुर घर्ति , ३० बर्षीया सुनिल समसेली र ४५ बर्षीया दुर्गा बहादुर सिजाली रहेका छन् ।

इलाका प्रहरी कार्यालय बग्नाहा, बर्दियाका अनुसार घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको छ । हराइरहेका व्यक्तिहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सुर्खेत बराहताल गाउँपालिका–२ निवासी ३३ वर्षीय टोप बहादुर खत्री सहितको टोली गत २३ फागुनमा सिकार खेल्ने उद्देश्यले घरबाट करिब १७ किलोमिटर दक्षिणतर्फ रहेको बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रतर्फ गएका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार अनुसन्धानको लागि प्रहरी सहायक निरीक्षक टोपेन्द्र सिंह ठकुरीको नेतृत्वमा प्रारम्भिक टोली खटाइएको थियो ।

घटनास्थल बर्दिया क्षेत्रमा पर्ने भएकाले जिल्ला प्रहरी कार्यालय बर्दियासँग समन्वय गर्दै थप टोली उक्त घटना अनुसन्धानको लागि सुर्खेतबाट समेत परिचालन गरिएको थियो । घटनापछि इलाका प्रहरी कार्यालय बग्नाहा, बर्दियाबाट प्रहरी निरीक्षक भुपेन्द्र थापाको नेतृत्वमा टोली खटिएको थियो । साथै, नेपाली सेनाको जबरजंग गण तथा निकुञ्जका कर्मचारीसमेत परिचालन गरिएका थिए । एक चरणमा करिब ५० जनासम्मको संयुक्त टोलीले दुर्गम जंगल क्षेत्रमा खोजी कार्य सञ्चालन गरेको थियो ।

खोजीका क्रममा सुर्खेत बराहताल गाउँपालिका–१ सुगरखाल जंगलस्थित एक ओडारबाट कालो प्लास्टिकले बेरेर लुकाइछिपाइ राखिएको भरुवा बन्दुक र त्यसमा प्रयोग हुने छर्रा फेला परेको थियो । प्रहरीले उक्त सामग्रीलाई अनुसन्धानको महत्वपूर्ण आधारका रूपमा लिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>