अन्तर्राष्ट्रिय
सर्वोच्च नेतामा मोज्तबा खामेनीको नियुक्तिले इरानको विदेश नीतिमा कस्तो असर पर्ला ?

तेहरान,फागुन २५ –
मोज्तबा खामेनी इरानको नयाँ सर्वोच्च नेता बनेसँगै देशको भविष्य र विदेश नीतिको दिशाबारे व्यापक बहस सुरु भएको छ । विश्लेषकहरूका अनुसार उनको नियुक्ति इरानका लागि ठुलो राजनीतिक ‘जुवा’ हो । यसको प्रभाव अन्तर्राष्ट्रिय सम्बन्धमा कस्तो पर्छ भन्ने अझै स्पष्ट छैन ।
मोज्तबा खामेनेईलाई आफ्ना पिता तथा पूर्व सर्वोच्च नेता आयतुल्ला अली खामेनीभन्दा अझ कडा धारको र वैचारिक रूपमा कठोर नेता मानिन्छ । उनको सम्बन्ध विशेषगरी शक्तिशाली सैन्य संरचना इस्लामिक रिभोलुशनरी गार्ड कर्प्स (आईआरजीसी) र राज्य प्रशासनसँग निकै नजिक रहेको बताइन्छ ।
हार्डलाइन नेताका रूपमा चिनिए पनि यही छविका कारण उनले सुधारका केही कदम चाल्ने सम्भावना रहेको विश्लेषकहरू बताउँछन् । उनको वैधता अन्य सम्भावित नेताभन्दा बलियो मानिन्छ । किनकि उनी लामो समयसम्मका सर्वोच्च नेता रहेका अली खामेनेईका छोरा हुन् ।
अरू कसैलाई सर्वोच्च नेता बनाइएको भए इरानमा वैधताको सङ्कट आउन सक्ने सम्भावना थियो । विश्लेषकहरूका अनुसार मोज्तबा खामेनेईको नेतृत्वले इरानलाई दुई बिल्कुल फरक दिशामा लैजान सक्छ ।
पहिलो कुरा त उनले आफ्नो कडा विचारधारालाई अझ बलियो बनाउँदै लगे भने इरान क्षेत्रीय रूपमा अझ अलग थलग पर्न सक्छ । यसले पश्चिमी देशहरू र छिमेकी राष्ट्रहरूसँगको तनाव झन् बढ्न सक्छ ।
दोस्रो धार कूटनीतिक सुधारको बाटो हुन सक्ने बताइएको छ । उनले क्षेत्रीय सम्बन्ध सुधार्ने प्रयास पनि गर्न सक्छन् । विशेषगरी अमेरिका लगायतका देशलाई इरान परिवर्तनका लागि तयार रहेको सङ्केत दिने सम्भावना पनि केहीले देखिरहेका छन् । एजेन्सी



























