अन्तर्राष्ट्रिय
पूर्वी लेबनानमा भएको इजरायली आक्रमणमा तीन जना हिजबुल्लाह कमान्डरको मृत्यु

लेबनान, फागुन ९-
पूर्वी लेबनानमा भएको इजरायली हवाई आक्रमणको श्रृंखलामा लेबनानको हिजबुल्लाह समूहका तीन जना कमान्डरहरूको मृत्यु हुनुका साथै आठ जना घाइते भएको जनाइएको छ ।
लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले पूर्वी लेबनानको रियाकमा रहेको भवनमा भएको हवाई आक्रमणमा १० सर्वसाधरणको मृत्यु भएको र ३० जना भन्दा बढी घाइते भएको रिपोर्ट गरेको छ ।
सुरक्षा स्रोतहरूलाई उल्लेख गर्दै सिन्हुवाले मृत्यु हुने तीन हिजबुल्लाह कमान्डरहरू मध्ये हुसेन मोहम्मद याघी, अली जाइद अल–मुसावी र मोहम्मद इब्राहिम अल–मुसावी रहेको जनाइको छ ।
हेजबुल्लाहले विज्ञप्ति जारी गर्दै कमान्डर हुसेन मोहम्मद याघीलाई शोक व्यक्त गर्दै हुसेन “लेबनान र यहाँका जनताको रक्षामा शहीद भएको जनाएको छ ।
लेबनानी सुरक्षा स्रोतहरूलाई उदृत गर्दै सिन्ह्वाले इजरायली लडाकु विमानहरूले हिजबुल्लाह साइटहरूसहित पूर्वी लेबनानका क्षेत्रहरूमा छ वटा हवाई आक्रमण गरेको जनाएको छ ।
सन् २०२४ नोभेम्बर–२७ देखि, हेजबुल्लाह र इजरायल बीच युद्धविराम सम्झौता लागू भएको छ । यस सम्झौताको बावजुद, इजरायली सेनाले कहिलेकाहीँ लेबनानमा आक्रमण गरेको छ । रासस



























