क्रिकेट

गैंडाकोट मेयर्स ११ को विजयी सुरुवात

Banner

गैंडाकोट, फागुन १–

नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को गैंडाकोटमा शुक्रबारदेखि पाँचौं संस्करणको गैंडाकोट मेयर कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

नव जागरण ग्रामीण विकास केन्द्रको आयोजना र नवलपुर जिल्ला क्रिकेट संघको सह–आयोजनामा गैंडाकोट–९ थुम्सीस्थित नव जागरण क्रिकेट मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले समुद्घाटन गरे ।

उद्घाटन खेलमा आयोजक गैंडाकोट मेयर्स ११ ले विजयी सुरुवात गरेको छ । गैंडाकोटले कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । मेयर्स ११ को जितमा सन्नी विकले ६३ र दीपक बोहोराले ३० रनको योगदान दिए । सन्नीले ३१ बलमा ४ छक्का र ८ चौका प्रहार गरे । दीपकले १८ बलमा २ छक्का र ४ चौका हिर्काए ।

कर्णालीका लागि अर्बिन्द घर्ती मगरले २, राजप्रताप शाह र दीवन पुनले समान एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.४ ओभरमा ११९ रनमै समेटिन पुगेको थियो । कर्णालीका लागि मनिष थापाले ३१, राजप्रताप शाहले २० र दीवन पुनले १४ रनको योगदान दिए ।

गैंडाकोट मेयर्स ११ का लागि चन्द्रकान्त पौडेलले ३, अविशेष गौतमले २, गौतम केसी, अपराजित पौडेल र सन्नी वि.कले समान एक–एक विकेट लिए ।
खेलमा गैंडाकोटका सन्नी वि.क प्लेयर अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत शनिबार दुई खेल हुँदैछन् । पहिलो खेलमा विहान १० बजे बागमती प्रदेश र लुम्बिनी प्रदेश बीच भिडन्त हुनेछ भने दिउसो १ बजे गण्डकी प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

फागुन ५ गतेसम्म चल्ने प्रतियोगितामा ७ प्रदेशसहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ३ लाख, उपविजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै व्यक्तिगत विधातर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद २५ हजार रुपैयाँ, उत्कृष्ट ब्याटर, बलर, फिल्डर र विकेट किपरले समान १५ हजार रुपैया“, उत्कृष्ट क्याच गर्नेले १० हजार र प्रत्येक प्लेयर अफ द म्याचले नगद ५ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताका निर्देशक धामनाथ सापकोटाले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन गर्दै गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले प्रतियोगिताले स्थानीय खेलाडीलाई अवसर प्रदान गर्दै गैँडाकोटको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल क्रिकेट सङ्घ गण्डकीका उपाध्यक्ष प्रकाश पौडेलले गैँडाकोटमा विगतदेखि सञ्चालन भइरहेको मेयरकप स्थानीय प्रतिभा उजागर गर्ने महत्वपूर्ण मञ्चका रूपमा स्थापित हुँदै गएको बताए ।

गैँडाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष तथा टुर्नामेन्ट डाइरेक्टर धामनाथ सापकोटाले प्रतियोगिता सञ्चालनका लागि ५२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए । मेयर कपलाई निरन्तरता दिँदै गैँडाकोटलाई राष्ट्रिय खेलकुद गतिविधिको केन्द्रका रुपमा विकास गर्ने आफूहरुको लक्ष्य रहेको उनको भनाइ छ । यहाँ सुरु भएको क्रिकेट प्रतियोगिता स्थानीय युवालाई प्रतिभा प्रदर्शन गर्ने अवसर दिनुका साथै खेलकुद पर्यटन प्रवद्र्धनमा पनि टेवा पुर्‍याउने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>