देश/प्रदेश
माछापुच्छ्रेमा सार्वजनिक सुनवाइ सम्पन्न

लेखनाथ (कास्की), २५-
यहाँको माछापुच्छ्रे गाउँपालिकाले बिहीबार सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । उक्त कार्यक्रमका सहभागीले स्थानीय सरकारसँग सम्बन्धित गुनासाहरु राखेका थिए ।
माछापुच्छ्रे–५ रिभानका प्रचण्ड शक्ति गुरुङले सार्वजनिक कार्यक्रममा युवालाई सहभागी नगराउने रोग अझै कायम रहेको गुनासो गर्नुभयो । स्थानीय केदारनाथ पौडेलले राजनीतिक दलहरुले जनताको हित नगरे पनि सरकारी कर्मचारीले सेवाग्राहीलाई छिटोछरितो सेवा दिए नागरिकले राहत महसुस गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारी कार्यालयका कर्मचारीले पनि पहुँचका आधारमा सेवाग्राहीको काम गर्नु भएन ।”
स्थानीय सुरज अधिकारीले पोखरा महानगरपालिकाको खानेपानीको मुहान माछापुच्छे«को मर्दी खोला भएकाले यहाँ शव जलाउँदा खानेपानी संस्थान र स्थानीय सरकारले सरसफाइ र संरक्षणमा ध्यान नदिएको बताउनुभयो ।
लाहाचोकका गोविन्द्रप्रसाद अधिकारीले नागरिकता, राहदानी, शान्तिसुरक्षामा जिल्ला प्रशासनले सहजीकरण गरिदिन माग गर्नुभयो । माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले सर्वसाधारणको जिज्ञासाबारे जवाफ दिनुभएको थियो । उहाँले जनतालाई सहज रुपमा सेवा दिने उद्देश्यले कार्यालयले आफ्नो सेवा प्रभावकारी बनाएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई नागरिकता एवं राहदानी वितरणमा सहज गर्नुका साथै उनीहरुको शान्तिसुरक्षामा ध्यान दिँदै आएको बताउनुभयो ।
उक्त अवसरमा स्थानीयका प्रश्नको जवाफ जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, मालपोत कार्यालय, खानेपानी संस्थान, नापी, विद्युत् प्राधिकरण, भौतिक पूर्वाधार, कर कार्यालयलगायतका प्रमुखले जवाफ दिएका थिए । रासस


























