कृषि

किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी

Banner

ढोरपाटन (बागलुङ),पुस २५-

ताराखोला गाउँपालिकाका महिलाले किवीको जुस उत्पादन गर्न थालेका छन् । महँगो मूल्यमा बिक्री हुने आसमा पाँच वर्ष अगाडि महिलाहरूले गाउँका बारीभरि किवी लगाए पनि अहिले बजार पाउन नसक्दा जुस बनाउन थालेका हुन् । उत्पादन बढी भए पनि बजार अभावमा लाखौँको किवी खेर जानबाट रोक्न जुस बनाउन सुरु गरेका हुन् ।

ताराखोला गाउँपालिका–३ स्थित हिलगाउँमा पँधेराखोला अस्तुरी कृषि समूहका महिलाले बारीमा लगाएको किवी लटरम्म फलेपछि उत्साहित थिए । तर उत्पादनअनुसारको माग नआउँदा उनीहरू चिन्तित छन् । सामान्य मात्रामा नजिकको गलकोट, बागलुङलगायतका बजारमा पठाउने गरेको समूहकी सदस्य देउकुमारी रोकामगरले बताउनुभयो ।

दुई वर्ष अगाडिबाटै बारीमा लटरम्म किवी फल्न थालेको भन्दै बजारको समस्याले गर्दा आफूहरू मर्कामा पर्ने अवस्था रहेको उहाँले सुनाउनुभयो । यस वर्षमात्रै एक हजार बढी बोतल जुस उत्पादन गरिसकेको उहाँको भनाइ छ । दुई सय ५० मिलीलिटर र आधा लिटरका बोतलमा जुस प्याकेजिङ गरेर अहिले बजारमा ल्याएको रोकामगरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “किवीको माग धेरै हुने र पैसा पनि राम्रो पर्छ भन्ने सुनेका थियौँ, धेरैले पनि राम्रो हुन्छ भन्नुभयो र बारीभरि किवी लगायौँ, तर अहिले सोचेजस्तो भएन, बजार पाउनै गाह्रो छ, पाए पनि उचित मूल्य पाउन सकेका छैनौँ, यस वर्ष जुस बनाउने भनेर सुरु गरेका छौँ, माग कस्तो आउँछ रु, परीक्षणमै छौँ, बजार पायो भने हाम्रो जीविकोपार्जनमा सहज हुने थियो ।”

समूहकी कोषाध्यक्ष भवी रोकामगरले अहिले सिङगुजी कृषि उपज प्रशोधन केन्द्रमार्फत किवीको जुस बनाउन लागिएको बताउनुभयो । ताराखोला गाउँपालिकाले सात दिनको तालिम दिएपछि जुस उत्पादन गर्न थालेको उहाँको भनाइ छ । उत्पादनलाई बजारीकरण कसरी गर्ने भन्ने मुख्य चुनौती रहेको भन्दै स्थानीय सरकारले थप सघाउने पर्ने रोकामगरले सुनाउनुभयो । अहिलेसम्म आफूहरूले दशौँ लाख लगानी गरिसकेका उहाँको भनाइ छ ।

स्वास्थ्यका लागि उपयोगी मानिने विकी जुस तयारी भएपछि बढीमा १८ महिनासम्म भण्डारण गर्न मिल्ने गरी प्राविधिक व्यवस्थापन गरिएको छ । गाउँपालिकाले रु तीन लाखमा जुस पेल्ने मेसिन दिएको अध्यक्ष धनबहादुर विकले बताउनुभयो । ताराखोलामा किवीखेतीको ठूलो सम्भावना रहेकाले त्यसका लागि किसानलाई प्रोत्साहित गर्ने काम गर्दै आइरहेको उहाँको भनाइ छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>