देश/प्रदेश

संस्कृति संरक्षण र प्रवर्द्धनमा गुरुङ समुदायको पहल

Banner

दमौली (तनहुँ), पुस २३ –

जिल्लाका गुरुङ समुदाय आफ्ना मौलिक संस्कार, संस्कृति र पहिचान संरक्षण तथा प्रवर्द्धनमा सक्रिय भएर जुटेका छन् । समयक्रमसँगै आधुनिक जीवनशैली र प्रविधिको प्रभाव बढ्दै जाँदा नयाँ पुस्तामा परम्परागत संस्कृतिप्रति चासो घट्दै गएको अवस्थालाई मध्यनजर गर्दै गुरुङ समुदायले संस्कृति संरक्षण र प्रवर्द्धनका लागि सङ्गठित भई अभियान सञ्चालन गरेका हुन् ।

जिल्लास्थित तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष देवबहादुर गुरुङले आधुनिकतासँगै प्रविधिको प्रयोग बढ्दै जाँदा गुरुङ समुदायका मौलिक संस्कार र संस्कृतिहरू लोप हुने अवस्थामा पुग्ने जोखिम रहेकाले परिषद्ले संरक्षण र प्रवर्द्धनका लागि पहल थालेको बताउनुभयो । परिषद्ले निरन्तर रूपमा तालिम, प्रशिक्षण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

परिषद्का अध्यक्ष गुरुङले पुराना पुस्ताले संस्कृति जगेर्ना गर्ने मात्र नभई नयाँ पुस्तालाई सिकाउनु, हस्तान्तरण गर्नु पनि आजको आवश्यकता बनेको बताउनुभयो । गुरुङ समुदायका मौलिक र पहिचान बोकेका मारुनी नाच, पाउदुरे नाच र घाँटु नाच पछिल्लो समय संरक्षणको अभावमा सङ्कटमा पर्दै गएकाले पुस्तान्तरणसहित संरक्षणमा जोड दिइएको उहाँको भनाइ छ ।

यी नाचहरूलाई लोप हुन नदिन परिषद्ले अहिलेका पुस्तालाई लक्षित गरी नाच प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “यी नाच गुरुङ समुदायको इतिहास र पहिचानसँग जोडिएका छन् । पुरानो पुस्ताले नयाँ पुस्तालाई सिकाउन र पुस्तान्तरण गर्न सकेन भने केही वर्षमा हाम्रा कला, परम्परा र संस्कार केवल स्मृतिमा सीमित हुने जोखिम छ ।”

पाउदुरे नाचमा केटालाई केटीको भूमिकामा प्रस्तुत गरिने परम्परा रहेको उल्लेख गर्दै परिषद्का अध्यक्ष गुरुङले यस किसिमका सांस्कृतिक विशेषता गुरुङ समुदायको मौलिकता भएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “हामी अहिले पुस्ता हस्तान्तरणको अभियानमा छौँ । नयाँ पुस्तालाई संस्कृतिप्रति जिम्मेवार बनाउनु नै हाम्रो मुख्य उद्देश्य हो ।”

संस्कृतिसँगै भाषाको संरक्षण पनि उत्तिकै महत्वपूर्ण रहेको बताउँदै अध्यक्ष गुरुङले गुरुङ भाषालाई गण्डकी प्रदेश सरकारले सरकारी कामकाजका रूपमा मान्यता दिएकामा धन्यवाद व्यक्त गर्नुभयो । उहाँका अनुसार यसअघि गुरुङ भाषा लिपिबद्ध नभएको अवस्थामा गण्डकी प्रदेश सरकारले खेमा लिपिलाई राजपत्रमा प्रकाशित गरी आधिकारिकता प्रदान गरेको हो । यसले गुरुङ भाषा संरक्षण र प्रवर्द्धनमा नयाँ आयाम थपेको उहाँले विश्वास व्यक्त गर्नुभयो ।

खेमा लिपिलाई व्यवहारमा उतार्ने उद्देश्यले प्रत्येक जिल्लामा भाषा तालिम सञ्चालन गर्ने तयारी भइरहेको परिषद्ले जनाएको छ । यसबाट गुरुङ भाषा सिक्ने वातावरण सिर्जना हुनुका साथै भावी पुस्ताले आफ्नै मातृभाषामा लेख्न, पढ्न र प्रयोग गर्न सक्ने अवस्था निर्माण हुने अपेक्षा गरिएको गुरुङ समुदायका अगुवा गलबहादुर गुरुङले बताउनुभयो ।

गुरुङ समुदायको यो अभियान केवल सांस्कृतिक कार्यक्रमसम्म सीमित नभई समुदायको पहिचान, इतिहास र अस्तित्व संरक्षणसँग जोडिएको दीर्घकालीन प्रयासका रूपमा हेरिएको उहाँले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>