देश/प्रदेश

किसान र उपभोक्तालाई जोड्दै हेलम्बुको स्थानीयबजार

Banner

चौतारा, पुस २१-

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ स्थित पाल्चोक मन्दिरमा सुरुआत गरिएको स्थानीयबजारले स्थानीय किसान र उपभोक्तालाई प्रत्यक्ष रूपमा जोड्ने काम गरेको छ ।

स्थानीय उत्पादनको संरक्षण, प्रबद्र्धन र बजारीकरण भन्ने मूल नाराकासाथ पाल्चोकी माई मन्दिर दर्शन गर्न आउने भक्तजनलाई लक्षित गर्दै हेलम्बु गाउँपालिका र मन्दिर व्यवस्थापन समितिको समन्वयमा शनिबारदेखि स्थानीयबजारको सुरु गरिएको हो ।

स्थानीयस्तरमा उत्पादन भएका शुद्ध अर्गानिक कृषि उपज बिचौलियाबिना नै प्रत्यक्षरूपमा हाटबजारमा बिक्री गर्न पाउँदा किसान निकै खुसी देखिएको हाटबजार व्यवस्थापन समिति संयोजक गोपाल गिरी बताउनुभयो ।

उहाँले हाटबजारमा किसानले काउली, मुला, साग, सुन्तला, किबी, फर्सी, लप्सी, सिस्नु, सिमी, सिलाम, कागती, गहत, मकै, जौ, फापरको पिठो, प्याजको बिरुवा, हरियो सिमी, चिया, एभोकाडो, स्कुस, सिन्की अमला, खोलेसागलगायत विभिन्न कृषि उपज राख्ने गरेको जानकारी दिनुभयो ।

यो हाटबजारलाई निरन्तर सञ्चालन गर्ने योजना रहेको हेलम्बु गाउँपालिकाको अध्यक्ष निमाग्याल्जेन शेर्पा बताउनुभयो । यसबाट पाल्चोक तथा आसपासका किसानलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास उहाँको छ ।

हेलम्बु गाउँपालिकाकै पहिलो स्थानीयबजारका रूपमा सुरु भएको यो बजार हरेक शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । सुरुआती चरणमै किसानको उत्साहजनक सहभागिता देखिनु यस हाटबजारको सकारात्मक सङ्केत मानिएको शेर्पाले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>