देश/प्रदेश

धार्मिक पर्यटकीय क्षेत्र गङ्गा खोलाको प्रवर्द्धन गर्न मेला आयोजना

Banner

भोजपुर, पुस २०-

रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेमा रहेको धार्मिक पर्यटकीय क्षेत्र गङ्गा खोलाको प्रवर्द्धन गर्ने उद्देश्यले मक्कर मेला आयोजना गरिने भएको छ । पर्यटकीयस्थल भए पनि प्रचारप्रसार अभावमा ओझेलमा परेको जनाउँदै स्थानीयवासी यसको संरक्षण र प्रचारमा जुटेका हुन् ।

प्रशस्त धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रको विकास र प्रचारप्रसारका लागि आगामी माघ १ गते मेला आयोजना गर्न लागिएको हो । गोल्मे राजा र गोल्मे रानी भिरको काखमा अवस्थित उक्त स्थलको संरक्षण र प्रवर्द्धनमा वडा कार्यालयसँगै स्थानीय नागरिक जुटेका छन् । ढुङ्गाको कापबाट उम्रिएका तीनवटा ठूला पानीका मुहान रहेको यस स्थानमा दर्शन गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका कारण भक्तजनहरूको आगमन हुने गरेको गोल्मे, गङ्गा पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष राजेन्द्रकुमार राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस स्थललाई मेला–महोत्सवमार्फत चिनाउने उद्देश्यले विगतका वर्षदेखि नै मक्कर मेलाको आयोजना हुँदै आएको छ । यहाँको पानीमा स्नान गर्दा विभिन्न छालासम्बन्धी रोग निको हुने तथा धार्मिक कर्मकाण्डमा चढाउने प्रचलन रहेको उहाँले बताउनुभयो । माघे सङ्क्रान्तिका अवसरमा यहाँ परम्परागत रूपमा भव्य मेला लाग्ने गर्दछ ।

“गङ्गा खोला देशले चिन्नुपर्ने ऐतिहासिक धार्मिकस्थल हो”, अध्यक्ष राईले भन्नुभयो, “गोल्मे राजा र गोल्मे रानी भिरको काखमा रहेको यो स्थान प्रचारप्रसार तथा संरक्षण अभावमा ओझेल परेको छ । यस स्थलका विविध विशेषता र पौराणिक महत्व उजागर गर्न मक्कर मेला आयोजना गरेका हौँ । यसको विकासका लागि प्रचारप्रसार गर्नु हाम्रो मुख्य लक्ष्य हो ।”

धार्मिक तथा पर्यटकीय क्षेत्र गङ्गा खोलाको आफ्नै विशिष्ट महत्व रहेकाले वडाले यसको विकाससँगै प्रचारप्रसारमा जोड दिएको वडाध्यक्ष एकराज आचार्यले बताउनुभयो । उहाँका अनुसार गङ्गा खोलाका सबै मुहान कहिल्यै नसुक्ने, वर्षायाममा पनि पानी धमिलो नहुने र मुहान दक्षिणबाट उत्तरतर्फ बग्ने भएकाले यसको धार्मिक र प्राकृतिक महत्व अझ बढेको छ ।

“हाम्रो वडामा रहेको गङ्गा खोला अनौठो प्रकृतिको धार्मिक पर्यटकीय क्षेत्र हो”, वडाध्यक्ष आचार्यले भन्नुभयो, “तर अझै ओझेलमै छ । त्यसैले विगतका वर्षझैँ यस वर्ष पनि प्रचारप्रसारका लागि मक्कर मेला आयोजना गरेका छौँ ।”

यस क्षेत्रको विकास गरेर गाउँपालिकाको दिगो आम्दानीको स्रोतका रूपमा स्थापित गर्नुपर्ने स्थानीयवासी पाण्डव राईले बताउनुभयो । “गङ्गा खोला अनौठो र आश्चर्यजनक प्रकृतिको पवित्र धार्मिकस्थल हो”, उहाँले भन्नुभयो, “स्थलगत अवलोकन गर्दा यहाँको भूबनोटले चकित बनाउँछ । तर अहिलेसम्म यस स्थानको समुचित संरक्षण र प्रचार हुनसकेको छैन ।”

हाल स्थानीयवासी मक्कर मेलाको तयारीमा जुटेका छन् । मेलाका अवसरमा जिल्लाका विभिन्न स्थानबाट श्रद्धालु तथा पर्यटकको ठूलो जमघट हुने गरेको राईले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>