देश/प्रदेश

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

Banner

मन्थली (रामेछाप), मंसिर २४-

पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा किसानको सक्रियता बढेको छ । जुनार बिक्रीका साथै गर्मीका लागि स्क्वास (प्रशोधनबाट तयार गरिएको पेयपदार्थ) बनाएर भण्डार गर्न किसान जुटेका छन् । जुनारको जिल्ला भनेर चिनिने रामेछापमा यस वर्ष फलेका पर्याप्त उत्पादन भएपछि किसान उत्साहित भएका हुन् ।

यो वर्ष जुनारका लागि उचित हावापानी भएकाले विगतको तुलनमा उत्पादन बढेको स्थानीय कृषक बताउछन् । पन्ध्र रोपनी जग्गामा लगाएको करिब ३०० बोटमा फलेका जुनार बिक्रीबाट रु तीन लाख आम्दनी हुने अपेक्षा गरिएको रामेछाप नगरपालिक–७ का कृषक रामकुमार कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्षको तुलनामा यस वर्ष जुनारका दाना केही साना भएपनि उत्पादन बढेको छ । बगैँचाबाटै प्रतिकिलो रु ५० देखि रु ६० मा बिक्री भइरहेको छ, बजारका लागि समस्या छैन ।”

कम मेहनत र लगानीमा मनग्य उत्पादन हुने भएकाले जुनारखेतीबाट आफूहरू सन्तुष्ट रहेको रामेछाप–७ कृषक ज्ञानुदेवी बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “यो खेतीबाट हामी सन्तुष्ट छांँ । एउटा साधारण बगैँचामा उत्पादित फल बेच्यो भने रु दुइदेखि रु तीन लाख आम्दानी हुन्छ ।”

करिब १८ रोपनी जग्गामा व्यावसायिक रूपमा जुनारखेती गर्दै आउनुभएका रामेछाप–६ ओख्रेनीका हिमाल तामाङले उत्पादन बढेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मैले गत वर्ष काठमाडौँका व्यापारीलाई बगैँचाबाट प्रतिकिलो रु ७५ देखि रु ८० मा बिक्री गरेर करिब रु तीन लाख ८८ हजार आम्दानी गरेको थिएँ । यहाँ तीन सय बोट छन्, त्यसमध्ये २५० बोटले उत्पादन दिइरहेका छन् भने ५० बोट हुर्किँदैछन् ।”

राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापले जिल्लाको मन्थली नगरपालिका, रामेछाप नगरपालिका र लिखु तामाकोशी गाँउपालिकालाई जुनार जोनका रूपमा विस्तार गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

कार्यलयका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ५८० हेक्टरमा खेती भए पनि चालु आवमा लिखु तामाकोशी गाँउपालिकाका विभिन्न वडामा १०० हेक्टर क्षेत्रफल थपिएको इकाइकी नायब प्राविधि सहायक भवानी बस्नेतले जानकारी दिनुभयो । क्षेत्रफल थपिएकाले गत वर्षको तुलनामा यस वर्ष जुनारको उत्पादन बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

यसैबीच, मन्थली डिलक्स एग्रो फरेष्ट्रि प्रालिले गर्मीको सिजनमा जुस बनाएर बिक्री गर्ने उद्देश्यले गाउँमा जुनार खरिद गरी गे्रडिङ गर्ने, ताछ्ने र रस बनाएर भण्डारण गर्ने काम सुरु गरेको छ । गाँउका किसानले उत्पादन गरेका जुनार गाँउमै खरिद गर्ने, गाँउलेलाई रोजगारी दिने र त्यसलाई पेलेर भण्डारण गरी गर्मी सिजनमा स्क्वास बनाएर बिक्री गर्न आफूले पहल थालेको प्रालिका सञ्चालक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।

गाँउमा जुनार, सुन्तलालगायत फलफूल खेती गर्ने युवालाई स्थानीय तहले अनुदानका कार्यक्रम सञ्चालन गरी सीप विकासमा तालिको व्यवस्था गरेमा वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्यामा कमी आउने उहाँको भनाइ छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>