अन्तर्राष्ट्रिय
कम्बोडियाली नेतासँगको ‘फोन कल’चुहावट भएपछि थाई अदालतले गर्यो प्रधानमन्त्रीलाई बर्खास्त

काठमाडौं, भदौ १३-
थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्रीलाई पदबाट हटाएको छ । प्रधानमन्त्री पेतोङतार्न शिनावात्रालाई जुन महिनामा चुहावट भएको एक फोन कलमा नैतिक उल्लंघन गरेको आरोपमा बर्खास्त गरिएको हो ।
उक्त फोन कलमा उनले कम्बोडियाका पूर्वनेता हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गरेको र थाई सेनाको आलोचना गरेको सुन्न सकिन्छ । यो घटना थाइल्यान्ड र कम्बोडियाबीच सीमा तनाव बढिरहेको समयमा भएको थियो । यो फैसलासँगै देशको राजनीतिलाई अस्थिरतातर्फ धकेलेको छ, जुन देशको सबैभन्दा शक्तिशाली राजनीतिक वंशका लागि ठूलो झट्का हो ।
स्वयं हुन सेनले चुहाएको उक्त कलले पेतोङतार्नको प्रतिष्ठामा आघात पुर्याएको र आलोचकहरूले उनलाई देशको सेनालाई कमजोर पारेको आरोप लगाएका थिए । यो फैसलासँगै पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्राकी छोरी पेतोङतार्न सन् २००८ यता अदालतद्वारा पदबाट हटाइएकी पाँचौँ प्रधानमन्त्री बनेकी छन् ।
शुक्रबार, अदालतका नौ न्यायाधीशको बहुमतले पेतोङतार्नविरुद्ध फैसला सुनाउँदै उनको कार्यले प्रधानमन्त्री पदको लागि अपेक्षित नैतिक मापदण्डको उल्लंघन गरेको ठहर गरेका थिए । ६ जनाले प्रधानमन्त्रीलाई हटाउने पक्षमा फैसला गरेका थिए । अदालतले पेतोङतार्नको कम्बोडियासँग व्यक्तिगत सम्बन्ध रहेको र यो कम्बोडियासँग मिलेमतो गरेजस्तो देखिएको भन्दै उनको दाबीलाई खारेज गर्यो ।
फैसलामा उनको कार्यले राष्ट्रिय हितभन्दा कम्बोडियालाई बढी फाइदा पुग्छ कि पुग्दैन भन्ने सार्वजनिक शंका उत्पन्न गराएको भनिएको छ ।

























