देश/प्रदेश
पोखराको लेकसाइडमा ‘अपरेसन सभ्यता’: तीन दिनमा ४४ जना कारबाहीमा

गण्डकी, कात्तिक २८ –
जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन गरिरहेको ‘अपरेसन सभ्यता’अन्तर्गत गत बुधबारदेखि शुक्रबारसम्ममा अवैध गतिविधिमा संलग्न ४४ जनालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
मादक पदार्थ सेवन गरी झैझगडा गर्ने २८, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने छ, प्रहरीसँग झैझगडा र वादविवाद गर्ने पाँच, हतियार लिई हिँड्ने दुई, महिला तथा बालबालिकामाथि दुव्र्यवहार गर्ने दुई र झण्डीबुर्जा खेलाउने एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रामजी देवकोटाका अनुसार सोही अवधिमा ८१ वटा सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ । तीमध्ये ५७ जना सवारीसाधनका चालकलाई मादकपदार्थ सेवन गरेको अवस्थामा र एक जना सवारीचालकलाई अन्य ट्राफिक कारबाही गरिएको उहाँले जानकारी दिनुभयो ।
तेइस वटा सवारीसाधनलाई वडा प्रहरी कार्यालय, बैदाममा राखी थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको हो । पोखरा महानगरपालिका–६ स्थित लेकसाइड क्षेत्रमा पछिल्लो समय बढ्दै गएका अवैध गतिविधि नियन्त्रणका लागि प्रहरीले यही कात्तिक १८ गतेदेखि ‘अपरेसन सभ्यता’ सुरू गरेको थियो ।
उक्त अपरेसनअन्तर्गत हालसम्म १४० जना व्यक्ति र २९३ वटा सवारीसाधनलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । झैझगडा, आपसी विवाद, पर्यटकलाई दुव्र्यवहार गर्नेजस्ता अनैतिक तथा अवाञ्छित गतिविधिका कारण लेकसाइड क्षेत्रको पर्यटकीय छविमा आँच पुगेको र शान्तिसुरक्षामा खलल पुगेको जनगुनासो बढेपछि विशेष प्रहरी अपरेसन ‘अपरेसन सम्भयता’ सुरु गरिएको हो ।
























