देश/प्रदेश

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

Banner

मुस्ताङ ,असार २६ –

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले गत मगलबार साँझको भीषण बाढीले क्षति पु¥याएको कुलो तथा सडक लगायतकासंरचना मरमत सुरुआत गरेको छ । बाढीले क्षतिग्रस्त स्थानमा त्यहाँका जनप्रतिनिधि, कर्मचारी र सुरक्षा निकायले बुधबार संयुक्त अनुगमन गरेका थिए । त्यसपछि आजदेखि त्यहाँ बाढीले क्षति पु¥याएको सिँचाइ कुलो तथा अवरुद्ध शाखा सडक खुलाउन लोमान्थाङ गाउँपालिका जुटेको हो ।

उपल्लो मुस्ताङको लोमान्थाङ–४ सम्जुङ गाउँमाथिको लेंकबाट बग्ने छुआमा खोलाबाट अचानक लेदोसहितको भीषण बाढी आएपछि त्यहाँको सडक तथा पुलपुलेसा र सिँचाइ कुलो ध्वस्त भएको थियो । गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले लोमान्थाङ –२ छोसेर र लोमान्थाङ–४ न्याम्डोक गाउँमा लेदोसहितको बाढीले किसानहरुको सिँचाइ कुलो ध्वस्त पारेको बताउनुभयो । बाढीले सिँचाइ कुलो ध्वस्त पारेपछि त्यहाँका किसानहरु निकै ठूलो समस्यामा परेको अध्यक्ष गुरुङको भनाइ छ । बाढीले लोमान्थाङ रिङरोड सडकअन्तर्गत आर्का –भार्सा जोड्ने सडक अवरुद्ध भएको बताउनुभयो ।

लोमान्थाङ गाउँपालिकाले त्यहाँ पु¥याएको क्षतिको अनुमगन तथा मूल्याङ्कन सुरु गरिसकेको छ । त्यहाँ गाउँपालिकाले गर्नसक्ने जति सबै काम तत्काल सुरु गर्ने गरी दुई वटा डोजर परिचालन गरिसकेको अध्यक्ष गुरुङको भनाइ छ ।

उपल्लो मुस्ताङमा वर्सेनि एक बाली मात्रै खेतबारी गर्ने प्रचलन छ । त्यहाँ उवा, फापर, तोरी र गहुँलगायतका वर्खेबाली लगाउने गरिएको छ । बाढीले त्यहाँको सिँचाइ कुलो लगायतमा क्षति पुगेपछि त्यहाँका किसानहरु निकै ठूलो समस्यामा परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास केसीले उल्लेख गर्नुभयो । त्यहाँ जतिसक्दो छिटोभन्दा छिटो बाढीले बिगारेको सिँचाइ कुलो मर्मत सम्भार गर्न र आर्का—भार्का जोड्ने सडक मर्मतका लागि दुई वटा डोजर फिल्डमा खटाइ सकेको उहाँले बताउनुभयो ।

‘‘गाउँपालिकाको आफ्नै एउटा डोजर छ, अर्को भाडामा लिएका छौँ”, प्रशासकीय अधिकृत केसीले भन्नुभयो, “ईन्धन जोहो गर्दैछौँ, केही दिनभित्रै त्यहाँको क्षतिग्रस्त सिँचाइ कुलो मर्मत कार्य सम्पन्न गर्ने गरी अघि बढेका छौँ ।” गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा ४० लाख बजेट रहेको र सोही बजेट त्यहाँ खर्च गरिने उहाँले बताउँनुभयो । मङ्गलबार साँझको छुआमा खोलाको बाढीले सात पुलमा क्षति पु¥याएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>