देश/प्रदेश

शुक्लाफाँटामा २० वर्षमुनिका किशोरी आमा बन्ने दर बढ्दो

Banner

कञ्चनपुर, असार १३-

शुक्लाफाँटा नगरपालिकामा २० वर्ष मुनिका किशोरी आमा बन्ने दर बढ्दै जान थालेको छ । उमेर नपुगेरै विवाह गरी आमा बन्ने किशोरीमा शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पर्दै गएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कअनुसार चालु आवमा बर्थिङ सेटरमा सुत्केरी भएका ३०२ महिलामध्ये २० वर्ष मुनिका ३० जना रहेका छन् । गत वर्ष त्यो सङ्ख्या २८ रहेको थियो । उमेर नपुगिकनै आमा बन्ने किशोरीको उमेर १६ देखि १९ वर्ष रहने गरेको छ ।

बीस वर्ष मुनिका किशोरीमा गर्भाधारणका लागि शरीर परिपक्व नहुँदा बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था जोखिममा पर्ने नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताउनुभयो । उहाँका अनुसार कानुनी रूपमा २० वर्षभन्दा कम उमेरमा विवाह गर्न नपाइने प्रावधान भए पनि व्यवहारमा भने त्यो लागू हुन सकेको छैन । शिक्षा, जनचेतना र यौन स्वास्थ्यसम्बन्धी जानकारीको अभावले किशोरी सुरक्षित यौन व्यवहारबारे जानकारी नपाई गर्भवती हुने गरेको उहाँ बताउनुहुन्छ ।

शरीरको पूर्ण विकास नहुँदा प्रसूतिमा जटिलता, कम तौलको बच्चा जन्मिनु, सङ्क्रमणको जोखिम आमा रहन्छ भने जन्मने शिशुमा शारीरिक कमजोरी र सङ्क्रमण दर बढ्दो रुपमा रहेको पाइने गरेको उहाँले बताउनुभयो ।

“शिक्षा, जनचेतना र स्वास्थ्य सेवा सुदृढ पार्नसकेमात्रै किशोरी गर्भाधारण दर घटाउन सकिन्छ”, उहाँले भन्नुभयो, “समुदायस्तरमा महिला शिक्षाको पहुँचलाई अभिवृद्धि गर्दै किशोरीलाई यौन शिक्षा दिने कार्यसँगै बालविवाह विरुद्धको कानुनी प्रावधानबारे जानकारी गराइनुपर्छ ।”

अधिकांश २० वर्ष मुनिका गर्भवती हुने किशोरीमा विद्यालयको पढाइबीचमै छाडेर भागी विवाह गरेको पाइएको छ । अभिभावकको दबाबमा किशोरावस्थामै विवाह गरिएको भने पाइएको छैन । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>