Breaking News

चितवनका सात पालिकामा कालिकाको सबैभन्दा कम बेरुजु, अन्यको कति ?

Banner

चितवन, असार ३-

चितवनका सात स्थानीय तहहरुमध्ये सबैभन्दा कम अद्यावधिक बेरुजु कालिका नगरपालिकाको देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदनमा कालिकाको बेरुजु सबैभन्दा कम देखिएको हो । आर्थिक वर्ष २०८०/८१ सम्म कालिका नगरपालिकाको कुल बेरुजु ५ करोड ६६ लाख ७९ हजार ३१७ रुपैयाँ रहेको छ । नगरपालिकाको गत वर्षको बेरुजु १ करोड ४६ लाख ६९ हजार ६५९ देखिएको छ ।

उक्त वर्ष कालिकाले अघिल्लो वर्षको १३ लाख ३४ हजार ३४२ रुपैयाँ बेरुजु फछ्यौट गरेको थियो । आर्थिक वर्ष २०७९/८० मा यस नगरपालिकाको बेरुजु १ करोड ७७ लाख १ हजार रुपैयाँ थियो । आर्थिक वर्ष २०७४/०७५ नगरपालिका स्थापना हुँदा बेरुजु १० करोड २८ लाख रुपैयाँ थियो । त्यतिखेर कालिका नगरपालिकाको बेरुजु जिल्लाका अन्य स्थानीय तहकोभन्दा धेरै थियो ।

चितवनमा सबैभन्दा बढी अद्यावधिक बेरुजु भरतपुर महानगरपालिकाको छ । महानगरपालिकाको गत आर्थिक वर्षसम्मको बेरुजु १ अर्ब ३ करोड ५३ लाख ८ हजार ४७२ देखिएको छ । आर्थिक वर्ष २०७९/०८० मा भरतपुर महानगरपालिकाको बेरुजु ९३ करोड ५० लाख २९ हजार रुपैयाँ थियो । गत आर्थिक वर्षमात्रै महानगरको बेरुजु १० करोड २ लाख ७९ हजार ४४२ देखिएको थियो । जबकी आर्थिक वर्ष २०७९/८० मा बेरुजु ५ लाख १५ हजार रुपैयाँमात्रै थियो ।

गत वर्षको मात्रै बेरुजुमा जिल्लाका सबै नगरपालिकाभन्दा राप्ती नगरपालिकाको बढी छ । राप्तीको बेरुजु एकै वर्षमा १६ करोड ७३ लाख ७७ हजार ८०८ देखिएको छ । राप्तीको गत वर्षसम्मको अद्यावधिक बेरुजु ३६ करोड ३ लाख ७१ हजार ८०८ रुपैयाँ छ । आर्थिक वर्ष २०८०/०८१ मा बेरुजु सबैभन्दा कम भने रत्ननगर नगरपालिकाको छ । रत्ननगरको गत आर्थिक वर्षको बेरुजु ४८ लाख ५६ हजार ६४९ देखिएको छ ।

गत वर्षसम्मको अद्यावधिक बेरुजु यस नगरपालिकाको १० करोड २ लाख ७९ हजार ५५३ छ । चितवनको खैरहनी नगरपालिकाको अद्यावधिक बेरुजु १२ करोड ८५ लाख ३ हजार ३२१ रुपैयाँ छ । यस नगरपालिकाको गत वर्षकोमात्रै बेरुजु १ करोड १६ लाख ६० हजार ७६४ छ । माडी नगरपालिकाको बेरुजु गत वर्ष २ करोड १४ लाख ५८ हजार ९८६ रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । गत वर्षसम्मको अद्यावधिक बेरुजु यस नगरपालिकाको ४८ करोड १४ लाख ७३ हजार ९८६ रुपैयाँ छ । इच्छाकामना गाउँपालिकाको अद्यावधिक बेरुजु १० करोड ८० लाख ६४ हजार रुपैयाँ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>