राजनीति
कांग्रेसको पार्टी कार्यालय आइडियाको केन्द्र हुनुपर्छः महामन्त्री थापा

काडमाडौँ, वैशाख १६-
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यस पटक पार्टीका विभागले राम्रो काम गरिरहेको भन्दै खुसी व्यक्त गरेका छन्। कांग्रेसको विपन्न उत्थान समन्वय विभागले मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।
‘यस पटक हामीले विभाग बनायौँ, विभागको टिमले बडो मेहनतका साथ काम भइरहेको छ। हामीले बनाउन खोजेको यही हो,’ महामन्त्री थापाले भने।
कांग्रेसको कार्यालय आइडियाको केन्द्र हुनुपर्ने उनले बताए। ‘नेपाली कांग्रेसको यो कार्यालय आइडियाको केन्द्र हुनुपर्छ,’ उनले भने,‘विमर्शको केन्द्र हुनुपर्छ। यो विचारको, मन्थनको, चिन्तनको केन्द्र हुनुपर्छ।’
पार्टी कार्यालयबाट गर्ने व्यवस्थापकीय कामको महत्त्व रहेकामा पनि उनले समर्थन जनाए। ‘ठुलो संस्था हो नियमित काम हुन्छन् नै। तर कांग्रेस आइडियामाथि विचार मन्थन पनि गर्छ। किन यो गर्छ भने यो जीवन्त पार्टी हो, किन पार्टी जीवन्त राख्ने भन्दा पार्टीले समाजका समस्याको समाधान खोज्छ, हल गर्छ,’ महामन्त्री थापाले भने।

























