राजनीति
समाजवादको भ्रूण नेवार समुदायमा छः अध्यक्ष प्रचण्ड

काठमाडौँ, वैशाख ६-
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले समाजवादको भ्रूण नेवार समुदायमा रहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवादको भ्रूण नेवार समुदायको इतिहासमा, उनीहरूको भाषा, संस्कृति, उत्पादनमा रहेको बताएका हुन् ।
उनले नेवार समुदायका संरचनामा नै नेपाली विशेषताको समाजवाद रहेको उल्लेख गरे । उनले नेपालको इतिहासमा आदिवासी जनजातिहरूमध्ये नेवार समुदाय नै अग्रणी भूमिकामा रहेको जिकिर गरे । नेवार समुदायको इतिहास अध्ययनबाट मात्रै नेपाली विशेषताको समाजवादको यात्रा आरम्भ गर्न सकिने प्रचण्डको भनाइ छ ।
उनले भने, ‘समाजवादको भ्रूण नेवार समुदायको इतिहासमा, उनीहरूको भाषा, संस्कृतिमा, उनीहरूको उत्पादन सम्बन्धमा, उनीहरूका गुठी लगायतका विभिन्न खालका संस्था संरचनाहरू जे बनेका छन्, त्यहीँ नेपाली विशेषताको समाजवाद छ । त्यसकारण मैले हाम्रो पार्टीका नेताहरूलाई नेपालको इतिहासमा आदिवासी जनजाति, त्यसमा पनि अग्रणी नेवार समुदाय नै हो ।’

























