राजनीति
कुलमानलाई हटाएपछि सरकारले अनावश्यक रुपमा जवाफ दिँदै हिँड्नुपरेको छ

काठमाडौं, चैत ३०-
सरकारले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएर अनावश्यक निर्णय गरेको टिप्पणी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गरेका छन् ।
धनकुटामा पुगेका महामन्त्री थापाले भने, ‘यो सरकार सफल बनाउन हामीले काम गरिरहेका छौं । मेहनत पनि गरिरहेका छौं । परिणाम देउ भनिरहेका छौं । सरकारमा बसेका हाम्रा साथीहरुबाट देशभरि प्रशंसा गर्न पाउँ भनिरहेका छौं । कहिलेकाहीँ दुःख पनि लागिरहेको छ । चाहिने नचाहिने काम गर्दिनाले देशभरिका साथीहरुको बीचमा अनावश्यक रुपमा जवाफ दिँदै हिँड्नुपरेको छ ।’
प्राधिकरणबाट कुलमानलाई हटाउने निर्णय लैजाने ऊर्जामन्त्री दीपक खड्का कांग्रेसकै हुन् । त्यसबारे उनले भने, ‘केही दिनअघि सरकारले एउटा निर्णय गर्यो । एउटा कर्मचारीको बारेमा, जुन निर्णय गर्ने पर्दैनथ्यो, त्यो अनावश्यक निर्णय गरेको कारणले अहिले साथीहरुले उत्तर दिँदै हिँड्नुपरेको छ । अनावश्यक रुपमा पार्टीका साथीहरुले सामाजिक सञ्जालमा, टोल-टोलमा हप्कीदप्की खानुपरेको छ । त्यसैले पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई हामी भनिरहेका छौं, गर्नुपर्ने काम गर, नगर्नुपर्ने काम नगर । तिमीहरुले गरेको कामको प्रचार गरिदिन पाउँ न !’

























