राजनीति
बरु ६ महिना भोकै बस्छौँ आदेशबिना कसैलाई छिर्न दिँदैनौँः प्रहरी प्रमुख पाण्डे

काठमाडौं,चैत २१-
काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले आफूहरू ६ महिनै भए पनि भोकै बस्ने तर,निर्देशन पालना गर्ने बताएका छन्। आज (बिहीबार) वडा अध्यक्ष र कर्मचारीहरूले कार्यालयको ताला फोडेर प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई छिराएपछि उनले यस्तो बताएका हुन्।
उनले यसरी कार्यालय तोडफोड गर्ने काम ठिक नभएको बताए। निर्देशनअनुसार जो कोही पदाधिकारीलाई रोक्ने जिम्मेवारी रहेको उनले बताए।
‘हामीलाई दिएको आदेश अक्षरंशः पालना गर्छौं, तर,यस्तो तामझाम गरेर ठिक भएन, हामी पनि महानगरकै कर्मचारी हो, राजनीतिक भाषा बोल्दैनौँ, कार्यालयको सुरक्षा गर्ने जिम्मा हाम्रो हो, हामी पनि तीन महिनादेखि तलब पाएका छैनौँ, तर पछि हट्दैनौँ, चाहे ६ महिना होस चाहे एक वर्ष नै भोकै बस्न परोस्,त्यसैले प्रहरी भनिएको हो।’
सरकारले प्रमुख प्रशासकीय अधिकृतमा सरोज गुरागाईंलाई नियुक्त गर्ने निर्णय गरेसँगै गत असोज ७ गते महानगरका प्रमुख प्रशासकीय अधिकृतमा पदबहाली गरेका थिए। तर, उनलाई पुरानो बसपार्कस्थित काठमाडौं टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृत गरेको आरोप लाग्यो। त्यसपछि महानगरपालिकाले उनीमाथि गत पुसमा छानबिन गर्न समिति गठन गर्यो। त्यसयता उनी निलम्बनमा परेका थिए।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा गुरागाईंलाई नै काम गर्ने वातावरण दिन आग्रह गरेको थियो तर महानगरपालिकाका प्रमुख बालेन शाहले ठाडै अस्वीकार गरेका थिए।
उनै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले यसघि काठमाडौं महानगरमा फर्केर काम नगर्ने र अन्तै सरुवाका लागि सरकारसँग माग गरेका थिए। तर,उनी महानगरको कार्यालयमा छिरेका छन्। महानगरका प्रहरीहरूले रोक्न खोजेका थिए। तर,सकेनन्। गुरागाईंको स्वागतमा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल पनि सहभागी थिइन्।