देश/प्रदेश
‘लाछाको डोरी’ बाट व्यावसायिकतातर्फ उन्मुख

वालिङ (स्याङ्जा), चैत १६-
स्याङ्जाको पुतलीबजार नगरपालिका–३ बस्ने २४ वर्षीया अनुशा मियाँको हातमा केही सीप थिएन । उहाँलाई हातमा कुनै पनि सीप नभएपछि घरधन्दा मात्रै गरेर बस्नुपर्ने बाध्यता थियो । अब भने उहाँको सोचमा परिवर्तन आएको छ । परिवर्तन आउनुको कारण ‘लाछाको डोरी’सम्बन्धी तालिममा सहभागी भएर सीप हासिल गर्नु हो ।
सीप नहुँदासम्म अलमलमा परे पनि हातमा सीप भएपछि उत्साहित भएर अगाडि बढेको महसुस उहाँले गर्नुभएको छ । पुतलीबजारकै जमिना बानु पनि लाछाको डोरी बनाउने र त्यसलाई बजारसम्म पु¥याएर बिक्री गर्ने तयारीमा हुनुहुन्छ । “परिवारको लालनपालनका लागि पनि केही सीप सिक्न पाएहुन्थ्यो भन्ने लागेको थियो आज साकार भयो”, उहाँले भन्नुभयो ।
दुई प्रतिनिधि पात्र जस्तै तालिममा सहभागी अन्य मुस्लिम महिला पनि लाछाको डोरी बुन्दै व्यावसायिक ढङ्गबाट अगाडि बढ्ने तयारी गरिरहनुभएको छ । सामाजिक विकास कार्यालयको आयोजनामा जिल्लाका मुस्लिम समुदायका महिलाका लागि मुसलमान समुदायको आर्थिक सशक्तिकरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेलले बताउनुभयो ।
“मुस्लिम समुदायको परम्परागत सीपका रुपमा रहेको पेसालाई आधुनिक ढङ्गबाट सञ्चालन गरी व्यवसाय वृद्धि गर्र्ने कार्यालयको लक्ष्य हो”, उहाँले भन्नुभयो, “सीमान्तकृत नागरिकलाई सचेतनासँगै आर्थिक सशक्तिकरणका लागि सामाजिक विकास कार्यालयले सहयोग गर्दै आइरहेको छ ।” लाछाको डोरी बनाउन सिकेका मुस्लिम समुदायका महिलाले आफ्नो समुदायमा प्रयोगमा आउने सामग्री उत्पादन र बजारीकरण गरी आर्थिक लाभ लिनसक्ने उहाँले बताउनुभयो ।
तालिममा २० जना मुस्लिम समुदायका महिलाले १० दिनसम्म सीप सिकेका हुन् । “लक्षित समुदायका महिलाका लागि नयाँ नयाँ सीप हस्तान्तरणले उहाँहरुको आर्थिक सशक्तिकरणसँगै व्यावसायिकता वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु”, नगर प्रमुख तुल्सीराम रेग्मीले भन्नुभयो । रासस
























