राजनीति
राजावादीहरूको दौडको पछाडि अन्तर्राष्ट्रिय शक्तिको स्वार्थको चलखेल देखिन्छः विप्लव

काठमाडौं,चैत ५-
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले राजावादीहरूको दौडको पछाडि अन्तर्राष्ट्रिय शक्तिहरूको स्वार्थको चलखेल भएको आशंका व्यक्त गरेका छन्। झापा पुगेका महासचिव विप्लवले पत्रकारहरूसँग कुरा गर्दै नेपालमा ठुलो दुर्घटनाको खतरा रहेको बताए।यद्यपि, उनले अहिले जनता गणतन्त्रबाट फर्किहाल्ने मुडमा नदेखिएको बताए।
उनले भने, ‘केही चार पाँच जना नेताहरूबाटै देश घुमिरहने स्थितिबाट मुक्त हुनुपर्यो। यो ०४६ सालपछि तीनै अनुहारहरू घुमाइरहेका छन्। तिनीहरूले नयाँ नीति पनि दिन नसक्ने, नयाँ नेतृत्व पनि दिन नसक्ने हुँदा असन्तुष्टि बढेको छ। संविधानमा पनि अपूर्णता छ। शासकीय प्रणालीहरू नै स्थिर छैनन्, अहिले चलिरहेको अस्थिर संसदीय प्रणालीबाट जनता निराश भएका छन्, दोस्रो अन्तर्राष्ट्रिय शक्तिहरूले हाम्रो भूराजनीतिमा चलखेल गर्दाखेरी राजतन्त्रको विषय प्रखर भएर आएको जस्तो देखेका छौँ। तर त्यो सहज छैन।’

























