अन्तर्राष्ट्रिय
पुटिनसँग मंगलबार कुरा गर्ने ट्रम्पको योजना

अमेरिका, चैत ४-
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुसी समकक्षी भ्लादिमिर पुटिनसँग मंगलबार कुरा गर्ने योजना रहेको बताएका छन्।
अमेरिकी अधिकारीहरूले साउदी अरबमा युक्रेनसँग भएको वार्तापछि वासिङ्टनले तीन वर्षे युद्ध रोक्ने प्रस्ताव गरेको केही हप्ताभित्रै युक्रेन र रुसबीच युद्धविराम सम्झौता हुन सक्ने आशा व्यक्त गरेका थिए।
‘मलाई लाग्छ कि हामी युक्रेनी भूमि, विद्युत् गृहको बारेमा कुरा गर्नेछौँ,’ ट्रम्पले एयर फोर्स वनमा पत्रकारसँगको कुराकानीमा भने।
‘मलाई लाग्छ, युक्रेन र रुस दुवै पक्षबीच यस विषयमा धेरै छलफल भइसकेको छ। हामी पहिलोपटक यसबारे कुरा गर्दै छौँ र केही जमिनको दाबीबारे टुङ्गो लगाउने बिषयमा छलफल गर्दै छौँ।’
वासिङ्टन र किएभका युरोपेली सहयोगीहरूले मस्कोलाई युद्ध रोक्न दबाब दिइरहेका छन् तर पुटिनले यसबारे कुनै स्पष्ट जवाफ दिएका छैनन्। बरु सर्तहरूको एक शृङ्खला सूचीबद्ध गर्दै अमेरिकी प्रस्तावमा ‘गम्भीर प्रश्न’ उठाएका छन्।
केही दिनअघि पुटिनसँग केही घण्टा भेटवार्ता गरेका ट्रम्पका दूत स्टिभ विटकोफले सीएनएनसँगको कुराकानीमा भनेका छन्, ‘दुई राष्ट्रपतिबीच यो साता निकै राम्रो र सकारात्मक छलफल हुनेछ।’

























