राजनीति
राजाको बहसमा नअल्मलिउ, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका लागि लड्ने बेला आयोः तोसिमा कार्की

काठमाडौं,फागुन २६-
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीका लागि लड्ने बेला आएको बताएकी छन् । उनले राजा फर्काउने नाममा नअल्मलिन नागरिकलाई अपिलसमेत गरेकी छन् । राजावादीहरुले आइतबार गरेको र्यालीप्रति टिप्पणी गर्दै कार्कीले अहिलेका दल र नेताहरु असफल भइसकेको, भ्रष्टाचार मौलाएको भन्दै व्यवस्थामा आमुल सुधारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री जरुरी भएको उल्लेख गरेकी हुन् ।
‘जबसम्म भ्रष्ट मानसिकता भएकाहरू मन्त्रिमण्डलमा बसिरहन्छन्, ठेक्कापट्टा मिलाउँछन्, जनताको करले आफ्नो दुनो सोझ्याउँछन् तबसम्म राजा आए पनि गणतन्त्र आए पनि देश बन्दैन। त्यसैले राजा चाहिन्छ या चाहिँदैन वा राजा को बन्ने या नबन्ने भन्ने बहसमा अल्मलिनुभन्दा पनि देशको लागि अझ एक कदममाथि उठेर यो देश बनेको हेर्न चाहने तपाईँ हामी सबै मिलेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था ल्याउनको लागि लड्ने बेला आएको छ,’ उनले भनेकी छन् ।

























