राजनीति
जागरण अभियानले जनतामा माओवादीप्रति भरोसा बढाएको छ: अध्यक्ष प्रचण्ड

काठमाडौँ, फागुन २५-
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई(मधेस जागरण अभियानले जनतामा माओवादीप्रतिको विश्वास अझ प्रगाढ बनाएको बताएका छन्। आइतबार नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा व्यक्त गरेका हुन् ।
अध्यक्ष प्रचण्डले भने, “पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकबाट माओवादी केन्द्रले नेताहरूबिच भावनात्मक एकता कायम गर्दै पार्टीलाई जनतासँग एकाकार गराएर अघि बढ्ने निर्णय गरेको छ। सोही निर्णयअनुसार हामी अहिले हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई(मधेस जागरण अभियानमा क्रियाशील छौँ। अभियानमा सम्पूर्ण पार्टी पङ्क्ति सक्रिय छ। हामी जनताको घरमा बसी उनीहरूसँगै बसोबास, खानपिन र छलफल गर्दै पार्टी र जनताबिचको सम्बन्ध थप मजबुत बनाउँदै अघि बढिरहेका छौँ। यसले जनतामा माओवादीप्रतिको सकारात्मक भावना झन् बढेको छ। जनताले ‘असली पार्टी त माओवादी नै रहेछ’ भन्ने अनुभव गर्न थालेका छन्।”

























