राजनीति

मोरङ एमालेमा विद्या भण्डारी समूहको ‘क्लीन स्वीप’

Banner

विराटनगर, फागुन २३-

नेकपा एमाले मोरङमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथ रहेको भनिएको प्यानल नै विजयी भएको छ । नयाँ नेतृत्वका लागि बुधबार भएको मतदानको अन्तिम परिणाम शुक्रबार साँझ आएको हो । जसमा भण्डारीको साथ रहेको भनिएका अम्बर राईको समूहले पदाधिकारीमा ‘क्लीन स्वीप’ गरेको छ ।

राईले ४४६ मत ल्याएर जीत निकाल्दा उनका प्रतिस्पर्धी संस्थापन पक्षका (अध्यक्ष केपी शर्मा ओली पक्षका) राजकुमार ओझाले ४०७ मत ल्याए । यस्तै, उपाध्यक्षमा राई समूहका सागर थापाले ४२२ मत ल्याउँदा ओझा समूहका शान्तिकुमारी लिम्बूले ३९१ मत प्राप्त गरिन् । सचिवमा राई समूहका सोमराज थापाले ४६२ मत ल्याउँदा ओझा समूहका रविन थापाले ३६८ मत पाएका निर्वाचन समितिले जनाएको छ ।

उपसचिव पदमा राई समूहकै सन्तोष बान्तावाले ४९०, उषा झाले ४१७ तथा ओझा समूहका इर्जलाल राजवंशीले ३११ र शिल्पा निराला कार्कीले ४०५ मत पाए । ९११ मतदाता रहेको एमाले मोरङको जिल्ला अधिवेशनमा ८८८ मत खसेको थियो । अध्यक्षमा निर्वाचित भएका राईले पार्टीलाई एकढिक्का बनाएर लैजाने बताएका छन् । निर्वाचित भएपछि प्रतिक्रिया दिँदै राईले चुनाव एउटा जीवन्त पार्टीको लोकतान्त्रिक अभ्यास भएको भन्दै अब पार्टीलाई एकढिक्का बनाएर लैजाने बताएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>