राजनीति
नकारात्मकताको जरो नै केपी ओली रहेको एकीकृत समाजवादीको आरोप

काठमाडौं, फागुन १०-
नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा प्रवक्ता जगन्नाथ खतिवडाले देशमा देखिएको नकारात्मकताको जरो प्रधानमन्त्री केपी ओली रहेको आरोप लगाउका छन्। उनका अनुसार ओली नेतृत्वको सरकार एकीकृत समाजवादीमाथि आक्रमण गर्ने प्रवृत्तिमा रहेको छ।
ललितपुरमा जारी केन्द्रीय कमिटीको बैठकबारे जानकारी दिँदै उनले पार्टीलाई सुदृढ र सबल बनाउने विषयमा बैठक केन्द्रित रहेको बताए।
‘देशका सबै नकारात्मकताको मूल जरो केपी ओली नै हुनुहुन्छ, उहाँले नै यो सब बिगार्नुभएको छ भन्ने कुरामा हामी स्पष्ट छौं। तर जसले जस्तोसुकै प्रहार गरे पनि पार्टीलाई बलियो बनाउन एकमत भएका छौं,’ खतिवडाले भने।
प्रवक्ता खतिवडाका अनुसार बैठकमा पार्टी नेतृत्व तथा केन्द्रीय सदस्यहरूले खेल्नुपर्ने भूमिकाबारे गहन छलफल भइरहेको छ। पार्टीलाई जनतासँग जोड्ने र जनसंघर्षमार्फत सबल बनाउने विषयमा प्रस्ताव गरिएको उनले सुनाए। ‘पार्टीलाई जनसंघर्ष र आन्दोलनका माध्यमबाट जनजीविका तथा देशभक्तिका विषय उठाउँदै जनसंगठनलाई बलियो बनाउनुपर्ने निष्कर्षमा पुगेका छौं,’ उनले थपे।
बैठकमा पार्टीका विभिन्न नियम, निर्देशिका र आचारसंहिताका प्रस्तावहरू पनि प्रस्तुत गरिएको छ। छलफलपछि ती प्रस्तावहरू पारित गर्दै बैठक समाप्त गरिने योजना रहेको खतिवडाले जानकारी दिए।
समसामयिक राजनीति निकै जटिल मोडमा रहेकाले यस चुनौतीको सामना गर्न एकीकृत समाजवादी सक्षम रहेको उनको दाबी छ। पार्टीसँग स्वच्छ नेतृत्व र विचारशील नेताहरूको उपस्थितिले राजनीतिमा देखिएको शून्यता चिर्न सक्ने खतिवडाको विश्वास छ।

























