राजनीति
एकीकृत समाजवादीले विवाहपूर्व र वैवाहिक बाहिरको सम्बन्धलाई अनैतिक मान्ने, यस्तो छ आचार संहिता

काठमाडौं,फागुन ९-
नेकपा एकीकृत समाजवादीले १३ बुँदे आचार संहिता जारी गरेका छन्। पार्टीको विधान २०८१ को धारा १३७ ले दिएको अधिकार प्रयोग गरी एकीकृत समाजवादीले आचार संहिता बनाएर जारी गरेको हो। कम्युनिस्ट नेता-कार्यकर्ताहरूले व्यवहारमा नैतिकता प्रदर्शन गर्नुपर्ने आचार संहितामा उल्लेख छ। उसले परपुरुष र परस्त्रीबीच हुने सम्बन्धलाई अनैतिक हुने बताएको छ। परपुरुष-परस्त्री शारीरिक सम्बन्ध राख्ने र विवाहपूर्व तथा वैवाहिक सम्बन्ध बाहिर शारीरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानिन्छ। कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताले यस्तो अनैतिक कार्य गर्नु हुँदैन। महिलाप्रति एकनिष्ठताको व्यवहार गर्नुपर्छ, आचार संहितामा भनिएको छ।
त्यस्तै पार्टीका नेता तथा कार्यकर्ताको आर्थिक र नैतिक आचरण शुद्ध हुनुपर्ने र उनीहरूको खानपान, रहनसहन, बसउठ आदि सरल र सामान्य हनुपर्ने आचार संहितामा उल्लेख छ। त्यस्तै अश्लील र अपशब्द बोल्ने, जातीय तथा वर्गीय भेदभाव गर्ने र अनैतिक क्रियाकलापलाई पनि आचार संहितामा समेटिएको छ। कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरू एक आपसमा र जनतासँग शिष्ट, मर्यादित, सम्मानजनक र समानताको व्यवहार गर्ने हुनुपर्छ। बोल्दा अश्लील र अपशब्दको प्रयोग गर्नु हुँदैन। कुनै वर्ग, जाति, समुदाय, लिंग, क्षेत्र, धर्म र संस्कृतिको मर्यादा तथा गरिमामा आँच पुग्ने गरी अभिव्यक्ति दिन या व्यवहार गर्नु हुँदैन। उनीहरू वर्गीय तथा जातीय भेदभाव नगर्ने र छुवाछतजन्य व्यवहार नगर्ने हुनुपर्छ। उनीहरूको आर्थिक जीवन र व्यवहार पारदर्शी हुनुपर्छ। उनीहरूले अनैतिक क्रियाकलाप गरी कुनै आर्जन गर्नु हुँदैन। उनीहरूको आर्थिक आचरण भ्रष्ट हुनु हुँदैन। उनीहरू भ्रष्टाचारका विरुद्ध दृढतापूर्वक उभिनुपर्छ, आचार संहितामा भनिएको छ ।

























