राजनीति

पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउने विषयमा गम्भीर छलफल जरुरी : नेता श्रेष्ठ

Banner

काठमाडौं, फागुन ७-

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्तिहरू राजनीतिमा सक्रिय हुने विषयमा गम्भीर छलफलको आवश्यकता रहेको बताएका छन्।

प्रेस सेन्टर ताप्लेजुङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनलाई पार्टीले अहिलेसम्म पूर्ण जिम्मेवारी नदिएको दावी समेत गरे। पुन अहिले पनि आमन्त्रित सदस्यका रूपमा मात्र रहेको र उनको राजनीतिक भविष्यबारे पार्टीले निष्कर्षमा पुग्न बाँकी रहेको श्रेष्ठको दाबी छ।

उपाध्यक्ष श्रेष्ठले केपी शर्मा ओली नेतृत्वको सरकारलाई भ्रष्टाचारको संरक्षण र छलछामको पर्याय भएको आरोप पनि लगाएका छन्। भ्रष्टाचार अनुसन्धानको डरले नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार ढालेको उनको आरोप थियो। सरकारले अध्यादेशमार्फत देश चलाउन खोज्दा तानाशाही प्रवृत्ति देखिएको पनि उनले स्पष्ट पारेका छन्।

दुई दलीय तानाशाही व्यवस्था लागु गर्न प्रयास भइरहेको बताउँदै श्रेष्ठले यसलाई रोक्ने प्रतिवद्धता जनाए। उनले सरकारले जनताका आधारभूत आवश्यकता पूरा गर्न नसकेको र निरंकुशता बढाएको भनेका छन्।

अहिले नेकपा (माओवादी केन्द्र)ले सरकार बनाउने वा गिराउने भन्दा पनि संगठनलाई बलियो बनाएर आर्थिक–सामाजिक रूपान्तरणको नेतृत्व गर्ने दिशामा ध्यान केन्द्रित गरेको उल्लेख गरे। उनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारसँग कुरा भइरहेको समेत जानकारी दिए।

समाजवाद निर्माण र सामाजिक न्यायसहितको आर्थिक रूपान्तरण प्रमुख आवश्यकता भएकोमा उनको जोड थियो। नेता श्रेष्ठले पार्टीभित्रका गुटउपगुटको अन्त्य नभएसम्म संगठन सुदृढ नहुने पनि स्वीकार गरेका छन्। ताप्लेजुङको पाथीभरामा केबलकार परियोजनामा गोली चल्नु दुःखद भएको टिप्पणी उनको छ। स्थानीय समुदायको माग सम्बोधन गर्न वार्ता जरुरी हुने उनको तर्क छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>