राजनीति
नेपाल समाजवादीको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित

काठमाडौं, फागुन १–
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)पार्टीको अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्याशी नेत्र चापागाईंलाई हराउँदै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् ।
जम्मा ८७३ मत खसेकोमा भट्टराईले ८ सय २ मत ल्याए । पराजित चापागाईँले ७१ मत ल्याएका छन् । मत गणना सकिए पनि अन्तिम मतपरिणाम नआएकाले तलमाथि हुन सक्ने बताइएको छ । भट्टराई अध्यक्षमा निर्वाचित भएको औपचारिक घोषणा बिहीबार साँझ ५ बजे पत्रकार सम्मेलनबाट गर्ने तयारी भएको नवनिर्वाचित उपाध्यक्ष मानुषी यमि भट्टराईले बताएकी छन् ।
काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानस्थित सिद्धिचरण हलमा औपचारिक घोषणा कार्यक्रम राखिएको छ। त्यहाँ समाजवादीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण कार्यक्रम राखिएको छ । त्यही कार्यक्रममा भट्टराईले सम्बोधन गर्ने तालिका तय गरिएको छ ।