राजनीति
सरकारले ल्याएका अध्यादेशको सशक्त प्रतिवाद गर्नेवरिष्ठ उपाध्यक्ष श्रेष्ठको चेतावनी

पाल्पा, माघ २६-
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारले ल्याएका अध्यादेशको सशक्त प्रतिवाद गर्ने बताएका छन् । उनले अध्यादेश जारी गर्ने प्रक्रिया स्वयं अलोकतान्त्रिक, निरङ्कुश र स्वेच्छाचारी भएकोसमेत बताए ।
प्रेस सेन्टर नेपाल पाल्पाले शनिबार तानसेनमा राखेको पत्रकार भेटघाटमा बोल्दै पूर्व गृह तथा उपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठले अध्यादेशका कतिपय अन्तर्वस्तुले यो देश र जनताको हितविरुद्ध काम गर्ने देखिएको बताए । उनले अहिले संसद्मा अध्यादेशविरुद्ध सशक्त प्रतिवाद गर्ने प्रक्रियामा रहेको बताउँदै सरकारको तर्फबाट निश्चित गरिएको मितिबाट अध्यादेश स्वीकार र अस्वीकारको प्रस्तावलाई प्रतिवाद गर्ने बताए ।
उनले अहिलेको देशको सन्दर्भमा राष्ट्रिय कार्यभारलाई पूरा गर्ने दिशातिर सबै प्रतिपक्षी शक्तिलाई मिलाएर अघि बढ्ने प्रक्रियामा रहेको बताए । सरकारले राम्रा कामको समर्थन गर्दै राष्ट्रिय मुद्दामा सहमति कायम गर्दै अघि बढ्न तयार रहेको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए ।