राजनीति
वामदेव गौतम अध्यादेशको विपक्षमा उभिने

काठमाडौँ, माघ २३-
राष्ट्रियसभा सदस्य वामदेव गौतम सरकारले ल्याएको अध्यादेशको विपक्षमा उभिने भएका छन्। सरकारले बिहीबार (भोलि) बस्ने राष्ट्रियसभा बैठकले ६ अध्यादेश निर्णयार्थ प्रस्तुत गर्दैछ।
आफू त्यसको विपक्षमा उभिने गौतमले बताए। संसद् अधिवेशन चालू नरहेको बखत सरकारले विभिन्न ६ अध्यादेश ल्याएको छ। प्रमुख प्रतिपक्ष तथा विपक्षी दलहरूले त्यसको विरोध गरेका छन् भने सत्तापक्ष जसरी पनि पारित गर्नुपर्ने पक्षमा छन्।
भोलिको बैठकमा आफ्ना सांसदहरूलाई कसैगरी उपस्थित हुनका लागि नेपाली कांग्रेस, नेकपा (एमाले)लगायतका दलहरूले ुह्वीपु जारी गरिसकेका छन्।
संवैधानिक प्रावधानअनुरूप संसद् अधिवेशन चालू नरहेको बखत ल्याइएको अध्यादेश संसद् खुलेपछि प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदनबाट बहुमतले पारित गर्नुपर्छ।
अहिले प्रतिनिधि सभामा सत्तापक्षको बहुमत भए पनि राष्ट्रिय सभामा भने बहुमत पुग्दैन। सत्तापक्षका कांग्रेस, एमाले र लोसपासँग क्रमशः १६, १० र १ सांसद छन्। उनीहरूको सिट जम्माजम्मी २७ पुग्छ। जबकि ५९ सदस्यीय राष्ट्रिय सभामा बहुमतका लागि कम्तीमा ३० सांसद चाहिन्छ।
यसर्थ, सत्तापक्षले राष्ट्रिय सभामा तीन सिट भएको जनता समाजवादी पार्टी, नेपाललाई फकाइरहेको छ।