राजनीति
क्रान्तिकारीको रोकिएको मतगणना पेरिसडाँडामा हुने

काठमाडौँ, माघ १५-
नेकपा (माओवादी केन्द्र) को विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) चुनावको बाँकी मतगणना आजै हुने भएको छ। मतगणना केहीबेरमा मातृपार्टीको मुख्यालय पेरिसडाँडामा सुरु हुने निवर्तमान अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन्। मतदान गत शनिबार सम्पन्न भए पनि मतगणना अझै सकिएको छैन।
अध्यक्षका चार प्रत्याशीमध्ये पार्टीका उपमहासचिव शक्ति बस्नेतसमर्थित उम्मेदवार विजयप्रकाश सापकोटा र अर्का उपमहासचिव जनार्दन शर्मासमर्थित उम्मेदवार हेमन्त राईबीच मुख्य प्रतिस्पर्धा देखिएको छ।
त्यसबाहेक अर्का उपमहासचिव वर्षमान पुनसमर्थित उम्मेदवार सुदिन पौडेल र पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसमर्थित उम्मेदवार उपदेश यादव भने निकै पछि देखिन्छन्। अहिले ुरातो मसीु विवाद निस्केको छ। यसमा भने विजयप्रकाशबाहेक हेमन्त, सुदिन र उपदेश एकठाउँ छन्।
निर्वाचन समितिले रातो मसीले रेजा लगाउनुपर्ने भनेको थियो। तर, त्यहाँ रातोबाहेक अरु मसीले रेजा लगाइएको पनि भेटिएको छ। त्यसका सम्बन्धमा अहिले विवाद छ। हेमन्त, सुदिन र उपदेशले रातोबाहेक अरु मसी भेटिए त्यो मत बदर हुनुपर्ने माग गरिरहेका छन् भने विजयप्रकाशले रेजा लगाइएका सबै मत गणना हुनुपर्ने बताइरहेका छन्।
यसमा सहमति जुटिसकेको विद्यार्थी नेताहरूले बताएका छन्। कसरी सहमति जुट्यो भन्ने भने सार्वजनिक गरिएको छैन।

























